देशलाई केही चिज दिने सपना छ : प्रचण्ड (भिडियो)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लास्ट इनिङ्स पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताएका छन् । शनिवार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।
आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्दै प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको पनि सुनाए ।
‘आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो । कम्तीमा पनि लेट मुभमेण्टको पहिलो हुने पूरै सम्भावना छ । मैले नेपाली काँग्रेसका नेताहरूलाई भनेको छु । अहिले पहिलो पार्टी त तपाईंहरू नै हुने देखियो तर माओवादी दोस्रो हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु । यसमा हाम्रो नेतृत्व तहमा राम्रो समझदारी छ । यो पटक स्थानीय चुनावको जस्तो हुन दिइँदैन । त्यसले हामीलाई अघि जान धेरै ठूलो मद्दत गर्नेछ । त्यसरी जाँदा हाम्रो हातमा एकपटक बागडोर आउँछ । हामीले यसरी विकास, सुशासन, समृद्धि भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ्स होस् । यो लास्ट इनिङ्स पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’ प्रचण्डले आगामी हुने संघ र प्रदेशको निर्वाचनमा दोस्रो शक्ति बनाउने गरी नेपाली काँग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी पनि दिए ।
यस्तै प्रचण्डले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई माओवादी नभएको बताए । गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी (माओवादी केन्द्र) मात्रै रहेको उनले जिकिर गरे । ‘माओवादी भनेको माओवादी केन्द्र मात्रै हो अरू माओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो’, उनले भने, ‘किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन । बाबुराम त माओवादी नै होइनन्, तिनको हिसाब नै भएन ।’
माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको पनि उनले बताए । किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादीहरू, बुर्जुवाहरू र दलालहरू आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको प्रचण्डको भनाई छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गर्दै प्रचण्डले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी पनि गरे । ‘हामीले अर्थतन्त्रमा पनि किसानतिर फर्केको उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको नयाँ बजेट प्रक्रियातिर देशलाई लगेका छौँ । यसबाट प्रतिक्रियावादीहरू, बुर्जुवाहरू र दलालहरू निकै अत्तालिएका छन् । हामीमाथि भएरनभएको आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र गरिएको छ । राष्ट्रिय स्वाधीनताको विषय हामीले पछिल्लो पटक १२ बुँदे घोषणासहित एमसीसीको कुरा होस् वा एसपीपीलाई हिजो मात्रै परराष्ट्र मन्त्रालयले चिठी लेखेर हामी त्यसमा सहभागी हुँदैनौँ भन्ने ठाउँमा पुर्याउनेमा माओवादी पार्टीको नै मुख्य भूमिका छ,’ उनले भने, ‘हामीलाई आरोपित गर्ने जो कोसिस भयो, मैले नै त्यस्तो आरोप प्रतिपक्षलाई लागेकै छ भने संसदीय छानबिन समिति गरेर, पुष्टि गरेर देखाउनुस् भनेर मैले नै छानबिन समिति बनाउन लगाएँ । छानबिन समितिले कुनै त्यस्तो त्रुटि भएको छैन भन्ने प्रतिवेदन बुझाइसकेको छ ।’
देश विकास गर्ने कुरा माओवादी बिना सम्भव नरहेको जिकिर गर्दै प्रचण्डले आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको पनि बताए । देशको राजनीतिक मानचित्र बदल् नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताए ।
भिडियो