अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।
संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए ।
शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।