दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको आशंका

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ पदमसालमा सोमबार एकै परिवारका चार जना मृत भेटिएका छन् । सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको हो ।
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
प्रहरीका अनुसार दिनेशकका पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा भेटिएको छ । दिनेशको शव भने अर्को कोठामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनामा घरकै भान्साको चक्कु प्रयोग भएको छ । र बाहिरबाट मानिस प्रवेश गरेको पनि नदेखिएको घटनास्थलमा पुगेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञ टोलीले जनाएको छ ।
प्रहरीका अनुसार गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश करिव १२ वर्ष वैदेशिक रोजगारीका लागि कुवेत बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए ।
उनले काभ्रेस्थली पदमसालमै पसल पनि राखेका थिए । उक्त पसल केही समयअघि बिक्री गरेका थिए । उनको परिवारबारे जानकार छिमेकीहरुका अनुसार दिनेश र सुनीताबीच मेलमिलाप थिएन ।
पारिवारिक झगडा तीन पटकसम्म प्रहरीको वालाजु बृत्तमा पुगेर मेलमिलापमा टुंग्याइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ ।