१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

महासंघलाई प्रश्न : पत्रकारको कार्ड लिएपछि सञ्चार माध्यममा सक्रिय हुनुपर्छ कि पर्दैन ?

 बुधबार, साउन १८ २०७९  

काठमाडौं । प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् ।

नेपाल मतदाता अधिकार मञ्चद्वारा बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारेका हुन् ।

कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्वद्ध निकायहरु सचेत हुनुपर्ने बताए ।

‘यदि खुकुलो प्रावधान छन् भने कसौं । पत्रकारको कार्ड लिएपछि लेख्न पर्छ कि पर्दैन ? सञ्चार माध्यममा सक्रिय हुनुपर्छ कि पर्दैन ? सक्रिय पत्रकारिता गर्नु पर्छ कि पर्दैन ? अथवा कुनै दलको केन्द्रीय कमिटीमा बस्ने र सँगसँगै आफू पत्रकार सम्वद्ध संघ, संगठनमा बस्ने अनि अझ भोटै मागिदिने काम गर्नु हुन्छ कि हुँदैन ? अस्तीको चुनावको अर्को कुरा पनि सिकायो । मिडिया अर्गनाइजेसनहरूलाई एकमुष्ट रुपमा फलानो दललाई भोट हालौँ भन्ने प्रष्ट कुरा पनि आयो । त्यसमा निर्वाचन आयोगले असहमति जनायो । प्रेस काउन्सिलले आपत्ति जनायो । यस्ता विषयमा पनि प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ जस्ता निकायहरुले ध्यान दिन जरुरी छ ।’

नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको उनको भनाई छ । ‘पहिला आफू पत्रकार होकि होइन, यकिन हुनुपर्छ है। पत्रकार भएर गरिएको काममा नियमन गर्न कुनै समस्या छैन । त्यसका लागि प्रेस काउन्सिल छ। सोसल मिडियाहरु पनि पत्रकारले चलाउने वा मिडियो हाउसले चलाउने विषयमा पनि समस्या छैन। त्यो पनि दायरा भित्र आउँछ, प्रेस काउन्सिलले हेर्छ’, उनले भने ।

त्यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पुर्याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको बर्ताए । पत्रकारहरु लगानीकर्ताका दासनै हुन भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरुलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सृजना गरिरहेको उनले बताए ।

‘पत्रकारहरु लगानीकर्ताका दासै हुन भन्ने ढंगले आरोप लगाउनु थालियो भने हामी सही ठाउँमा पुग्दैनौँ। पत्रकारहरुको विवेक प्रयोग गर्ने वातावरण निर्माणमा कति ध्यान दिन सक्यौं ? राज्यले बनाउने नीति–कार्यक्रमदेखि लिएर पारिश्रमिकलगायतका विभिन्न आयामहरु होलान्। त्यो वातावरण बनाउनुपर्यो । पत्रकारहरुले विवेक पुर्याएर काम गर्ने वातावरण सुनिश्चित गर्नका लागि’, उनले भने ।

 

प्रतिक्रिया सबै