ताइवाननजिकै सुरु गर्यो चीनले सैन्य अभ्यास

काठमाडौं । चीनले ताइवाननजिकै आफ्नो सैन्य अभ्यास सुरु गरेको छ । बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सामाजिक सञ्जाल ट्वीटरमार्फत सैन्य अभ्यास सुरु गरेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘पीएलएले ताइवाननजिकै एक संयुक्त सैन्य अभ्यास सुरु गरेको हो । चीनले आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्छ ।’ समाचार एजेन्सी एएफपीका अनुसार ताइवानले २७ चिनियाँ लडाकु विमान ताइवानको हवाइ क्षेत्रमा प्रवेश गरेको बताएको छ ।
ताइवानले चिनियाँ विमानलाई चेतावनी दिन आफूले पनि लडाकु विमान उडाएको उल्लेख गरेको छ । चीनले सैन्य अभ्यास सुरु गरेसँगै जी ७ मुलुकको समूहले चीनको आक्रामक सैन्य अभ्यास कुनै पनि हिसाबमा जायज नभएको बताएको छ । अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसी ताइवान पुगेकी थिइन् र बुधबार दक्षिण कोरिया प्रस्थान गरेकी थिइन् ।
चीनले निरन्तर पेलोसीको ताइवान भ्रमणको विरोध गर्दै आएको थियो । उसले यो भ्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीपनि दिँदै आएको थियो ।