९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

संघ र प्रदेशको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने सरकारको निर्णय

 बिहिबार, साउन १९ २०७९  

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सरकारले मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले एकैचरणमा निर्वाचन गर्ने गरी निर्णय गरेको हो ।

आउँदो मंसिर ४ गते गर्ने गरी निर्वाचनको मिति घोषणा गरिएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।

निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता निर्वाचन गर्न सकिने सुझाव दिएको थियो । यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो । यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो । २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो ।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचन हुनेछ ।

प्रतिक्रिया सबै