४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

काठमाडौंमा फोहोरको डंगुर राजनीतिको प्रतिकात्मक स्थिति हो : भीम रावल

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताएका हुन् ।

जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको उनको भनाई छ ।
नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए ।

आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनले बताए । ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ति राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को बिरुद्धमा छ’, उनले भने ।

दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति प्रतिवद्धता थियो भन्ने कुरा स्मरण गर्नपर्ने रावलले बताए । ‘हुनत राजनीतिमा विकृतिको डंगुर भएको, अहिले काठमाडौंमा जुन फोहोरको डंगुर लागेको छ नि, मलाई त कहिलेकाहीँ कस्तो लाग्छ भने यो काठमाडौंको फोहोरको डंगुर यो सरकारको राजनीतिको फोहोरको डंगुरको प्रतिकात्मक स्थिति हो जस्तो लाग्छ । यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ । त्यसकारण आगामी निर्वाचनमा यस्तो खालको सिद्धान्तहीन, गन्तव्यहीन, आदर्शहीन, मूल्यहीन, मान्यताहीन राजनीतिको बाटो होइन आ–आफ्नो सिद्धान्त र नीतिमा राजनीतिक दल अगाडी बढ्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया सबै