८ आश्विन २०८०, सोमबार Monday 25 September, 2023

साडी, चुरा फालेर सरकारविरुद्ध प्रदर्शन

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । चुरे अभियन्ताहरुले चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरुको माग सम्बोधन गर्न माग गर्दै साडी-चुरा सडकमै फालेर मधेश प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।

मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा, ब्लाउज, पेटीकोट फालेर अभियानकी महिलाहरु प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

चुरे संरक्षणको माग गर्दै विगत १७ दिनदेखि चुरे तथा वनजंगल संरक्षण अभियानकर्मीहरु रिले अनशन गर्दै आइरहेका छन् ।

भूमिहीन, दलित, सुकुम्बासीहरूका लागि आफूहरुले प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेको चुरे अभियन्ताले बताएका छन् ।

अभियन्ताहरुले आफ्ना पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुलाई साडी, चुरा, प्रदान गरेर विरोध जनाउने तय गरेका थिए । यद्यपि प्रहरीले अभियन्ताहरुलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न नदिएपछि ती सामग्रीहरु सडकमै फालेका थिए ।

आन्दोलनकारीले मधेस प्रदेश सरकारका मन्त्रीहरुलाई साडी, ब्लाउज, चुरा, पेटीकोट बुझाउन नसकेपछि सडकमै फालेर सांकेतिक विरोध जनाएका हुन् । अभियन्ताद्वारा साउन २२ गते बच्चा आन्दोलनको घोषणा गरिएको छ ।

भूमिहीन सुकुम्वासीहरू घरबारविहीन रहेको र उनीहरुका बालबच्चाको भविष्य अन्धकारमा रहेको कुरा सरकारले बुझेर पनि अबुझ बनेकाले मुख्यमन्त्री कार्यालय अगाडि बच्चाहरुलाई राखेर प्रदर्शन गर्ने अभियानका संयोजक सुनिल यादवको भनाई छ ।

यी दुवै दिनको विरोध पश्चात पनि सरकारले कुनै चासो नदेखाए मधेश आन्दोलन भन्दा पनि ठूलो र अन्तिम आन्दोलन हुने संयोजक यादवले चेतावनी पनि दिए ।

यसअघि पनि प्रदेश सरकारलाई ध्यानाकर्षण गराउँदै पटक–पटक ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया सबै