१६ मंसिर २०८०, शनिबार Saturday 2 December, 2023

प्रचण्डलाई चार जिल्लाबाट चुनाव लड्ने प्रस्ताव

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् । पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन ।

उनीहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् । पार्टीका नेताहरुले चुनावी अंक गणितको हिसाब गरेर चार जिल्लाका नेताहरुले भेटेरै ती क्षेत्रमा चुनाव लड्न अफर गरेको बताइएको छ ।

गोरखा क्षेत्र नम्बर १ का सांसद हरि अधिकारीले आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेको बताए । त्यस्तै स्थायी समिति सदस्य हरिबोल गजुरेल र केन्द्रीय सदस्य राजन दाहालले पनि प्रचण्डलाई सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्न प्रस्ताव गरेका हुन् ।

पार्टी नेतृत्वलाई सिन्धुलीका जनताबाट अनुमोदन गराउने इच्छा प्रचण्डकहाँ राखेको उनको भनाई छ । सिन्धुलीबाट चुनाव लड्ने प्रचण्डको इच्छा नभई आफूले नै चुनाव लड्न अफर गरेको उनले बताएका छन्। यदि प्रचण्ड सिन्धुली बाटै चुनाव लडेमा गजुरेल र दाहाल दुबै नेता छोड्न तयार भएका छन् ।

यस्तै स्थायी समिति सदस्य मातृका यादवले समेत आफ्नो क्षेत्रबाट चुनाव लड्न प्रचण्डलाई प्रस्ताव गरेका छन् । त्यस्तै सिरहाबाट प्रतिनिधित्व गर्ने अजयशंकर नायक, विश्वनाथ साह र महेन्द्र पासवान लगायतका माओवादीहरूले समेत प्रचण्डलाई सिरहाबाट चुनाव लड्न सुझाव दिएका छन् । दोस्रो संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ५ बाट प्रचण्ड निर्वाचित भएकाले पुनः सिरहाबाटै चुनाव लड्न उनीहरुले सुझाव दिए ।

पार्टीका नेताहरुले प्रचण्डलाई चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेपनि उनले ठोस जवाफ भने दिएका छैनन् । प्रचण्डले भने चितवन क्षेत्र नम्बर तीन बाटै चुनाव लड्ने बताउने गरेका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौँबाट निर्वाचित भएका थिए । दोस्रो संविधान सभामा प्रचण्ड काठमाडौ र सिरहाबाट चुनाव लडे पनि सिरहाबाट मात्रै निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा चुनावमा भने प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया सबै