सरकारको स्पष्टीकरण : केपी ओलीको जासुसी गर्न गुप्तचर खटाइएको छैन

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जासुसीका लागि गुप्तचर नखटाइएको स्पष्टीकरण दिएको छ ।
बिहीबार परराष्ट्र मामिलाका पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा ओलीले आफूविरुद्ध जासुसीका लागि सरकारले चारजना गुप्तचर नै परिचालन गरेको बताएका थिए ।
ओलीको उक्त भनाइको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा खण्डन गरेका हुन् ।
‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । यस्तो भ्रममा कोही पनि नपर्नु हुन अनुरोध गर्दछु’, उनले भने ।
कार्कीले कुनै नागरिकको गोप्य रुपमा फोन ट्यापिङ नगरेको पनि बताए । ‘सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत । यसको सम्मान र सम्वर्द्धन गर्न प्रतिवद्ध छ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु’, उनले भने ।
ओलीले बिहीबार नागरिकको वैयक्तिक जीवनमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रश्न उठाएका थिए । ‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने ? अहिले सरकारले जनताको फोन नै ट्यापिङ गरिरहेको छ। यस्तो गर्न मिल्छ ?’ उनले भनेका थिए, ‘हेर्नुस् मेरो घर अघिल्तिर चारजना गुप्तचर राखेको छ सरकारले। राज्य संयन्त्रले मेराविरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ गर्नेरु ब्ल्याकमेलर सरकार होइन त यो ?’