२५ चैत्र २०८०, आईतवार Sunday 7 April, 2024

यायोक्खाले पत्रकारसहित ११ जनालाई सम्मान तथा परस्कृत गर्ने

 शुक्रबार, साउन २० २०७९  

काठमाडौं । किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो ३५औं स्थापना दिवसको अवसरमा पत्रकार राजेश चाम्लिङ राई, बरिष्ठ पत्रकार तथा लेखक कौशल चेम्जोङ लगायत ११ जनालाई नगदसहित सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।

यायोक्खाले साउन २२ गते बिशेष कार्यक्रमवीच ३५औं स्थापना दिवस ललितपुर मानभबनस्थित कृष्टल व्याङ्वेटमा मनाउँदैछ । कार्यक्रममा गोरखापत्र दैनिकका सहायक सम्पादक चाम्लिङ राईलाई नगद ३० हजारसहित धनकेशरी अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार कोषमार्फत सम्मान गर्ने निर्णय भएको यायोक्खा महासचिव जनक राईले जानकारी दिए । चाम्लिङ किरात राई पत्रकार संघको पूर्ब अध्यक्षसमेत हुन् ।

कृति सम्मानमा कौशल चेम्जोङद्वारा लिखित उदयपुरको इतिहास पुस्तकलाई छत्र विष्णु राई कृति सम्मान कोषबाट सम्मान गर्ने निर्णय भएको हो । किरात इतिहाससँग सम्बनिधत पुस्तकलाई नगद २५ हजारसहित सम्मान हुने यायोक्खा उपाध्यक्ष ज्ञान राईले बताए । उदयपुरको गाईघटका चेम्जोङ नेपालको स्थापित पत्रकार हुन् ।

किरात मेवाहाङ मुन्दुम लगायत पुस्तक लेखन तथा संकलन गरेर किरात राई समुदायलाई योगदान पुर्याए बापत शिव सुन्दर मेवाहाङ राईलाई किराया मदनेश्वरी राई स्मृति पुरस्कार कोषबाट ३० हजारसहित पुरस्कृत हुने भएको छ । किराया दर्गादेवी मोहन सिं भाषिक पत्रकारिता सम्मान कोषबाट रेडियो नेपालको धनकुटाबाट बान्तावा भाषामा कार्यक्रम सञ्चालन गर्दै आएकी सुखकला राई, किराया संगीत विकास कोषबाट संगीतकार डाक्टर किरात, किरात राई समुदायमा भाषिक क्षेत्रबाट योगदान पुर्याए बापत गणेश साम्पाङ राईलाई सम्मान गर्ने भएको छ ।

पत्रकारिता गर्दै आएका राई यायोक्खा पाँचथर जिल्ला अध्यक्षसमेत हुन् । वान्तावा भाषामा कृति समेत प्रकाशन गरेका राईलाई किराया विराजनसुर लालमतिम्मा लालमतिम्पा भागेम्मा सायरोम कोष २०७५ बाट सम्मान गर्ने भएको हो ।

त्यस्तै, जुडो खेलाडी सम्झना राईलाई ३० हजार नगदसहित किराया मनकुमारी साम्पाङ दुमी राई स्मृति खेलकुद पुरस्कार कोष २०७९बाट सम्मानित हुने भएका छन् ।

कार्यक्रममा बिभिन्न बिषयमा विद्यावारिधि गर्ने तीन जना, सगरमाथा आरोही, छात्रवृति, साफ र एसियन खेलमा बिभिन्न पदक विजेता खेलाडीहरुलाई समेत सम्मान तथा कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको भनाई छ ।

प्रतिक्रिया सबै