उपत्यकाका १५ सरकारी विद्यालयमा पोषणयुक्त खाजा

काठमाडौं । सरकारी विद्यालयमा पढ्ने बालबालिकामा पोषणयुक्त खानेकुराको अभाव हुन नदिन एक संस्थाले पोषणयुक्त खाजा सहयोग गरेको छ ।
ग्लोबलको अपरेसन फर डेभलपमेन्टले सरकारी विद्यालयमा बाल कक्षा (शिशु)देखि कक्षा ५ सम्म अध्ययनरत २ सय बालबालिकालाई दैनिक खाजा खुवाउन ५८ रुपैयाँ सहयोग गरेको हो ।
शुक्रबार शान्ति शिक्षा माविमा अध्ययनरत २ सय बालबालिकाको लागि प्रतिविद्यार्थी ५८ रुपैयाँ दिइएको संस्थाका अध्यक्ष मुक्ति मरासिनीले जानकारी दिए ।
दैनिक ज्यालादारी, मजदूरी गर्ने निम्न आय भएका परिवारका बालबालिकाहरु काम गर्दै पढ्न बाध्य छन्,’ उनले भने, ‘ती बालबालिका खाना नखाई विद्यालय जानुपर्ने, खाना खाए पनि पोषणयुक्त नभएको अध्ययनले देखायो अनि सहयोग गरेका हौँ ।’
उनले खाजा कार्यक्रमका लागि दिइएको रकमले विद्यार्थीलाई खाना खाने समस्या नहुने र शैक्षिक स्थिति पनि सुधार्ने बताए ।
संस्थाका कार्यक्रम म्यानेजर दीपक रेग्मीले काठमाडौं र ललितपुरका २३८० जना सरकारी विद्यालयमा बाल कक्षादेखि ५ सम्म अध्ययनरत बालबालिकालाई खाजा र खानाको व्यवस्था गरिने बताए ।
उनले अब ललितपुरका ८ र काठमाडौंका ७ सरकारी विद्यालयमा कार्यक्रम अघि बढाइने जानकारी दिए । अहिले ११ सय ९० विद्यार्थीले दिवा खाजाबापत दैनिक ५८ रुपैयाँ उपलब्ध गराइएको उनको भनाइ छ ।
उनले महानगरपालिकाले शिक्षा क्षेत्रमा ९ करोड बजेट विनियोजित गरेकोमा दश रुपैयाँ थप गरि बाल कक्षा देखि कक्षा ८ सम्म खाना खुवाउने लक्ष्य लिएको भन्दै संस्थाले दिएको रकमले बालबालिकालाई गुणस्तरीय खाना÷खाजा उपलब्ध हुने विश्वास लिए ।
‘संस्थाले बालबालिकाहरूको लागि खाजा, खाना व्यवस्था गरी उनीहरुको चौतर्फी विकासमा भूमिका खेलेको छ, यसले सकारात्मक भूमिका खेल्नेछ,’ उनले भने ।
महानगरपालिका १७ नम्बर वडाध्यक्ष नवीन मानन्धरले बालबालिकाको क्षेत्रमा काम गर्ने र पोषणयुक्त खानेकुरा दिने संस्थाको निर्णय स्वागतयोग्य रहेको बताउँदै वडाले पनि रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए । चाइना फाउन्डेसन फर पोर्भर्टी एलिभेशनको आर्थिक सहयोगमा संस्थाले खाजासहित पोशाक र झोला पनि वितरण गरेको छ ।