शिन्जो आबेसँग मेरो विशेष मित्रता थियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग आफ्नो विशेष मित्रता रहेको बताएका छन् ।
जापानको फुकुओकामा आयोजित ‘नेपाल फेस्टिबल फकुओका–२०२२’ को उद्घाटन समारोहमा सहभागी हुँदै प्रचण्डले आबेको निधनअघि विभिन्न रुपमा आफ्नो सम्पर्क र कुराकानीमा हुने गरेको बताए ।
‘जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेसँग विभिन्न रुपले सम्पर्क र कुराकानीमा गर्ने गरेको थिएँ । उहाँसँग मेरो विशेष मित्रताको सम्बन्ध बनेको थियो। जापानमा आएको बेलामा उहाँसँग भेट्ने र प्रत्यक्ष कुरा गर्ने इच्छा मैले जापानी राजदूतावासमार्फत पुर्याएको थिएँ’, प्रचण्डले भने ।
पूर्वप्रधानमन्त्री आबेको निधन दुःखद भएको र दुर्लभ हुनै नहुने घटना भएको बताए । ‘यही बीचमा उहाँको अवसान भयो, म उहाँलाई श्रद्धापूर्वक स्मरण गर्न चाहन्छु । जापानमा दुर्लभ हुनै नहुने घटनाको रुपमा त्यो घट्यो जुन दुःखद छ’, उनले भने ।
आजै बिहानमात्र प्रचण्डले आबेसँग सम्बन्ध राम्रो भएको भन्दै शिन्जो नेपाल भ्रमण आउँदा कुराकानी गरेको प्रचण्डले बताए ।
सिन्जो आबे नेपाल भ्रमणमा आउँदा आफूसँग २÷३ पटक कुराकानी भएको उनले बताए । तर, आबे अहिलेसम्म नेपाल भ्रमणमा नआएको खुलेसँगै प्रचण्डले जापान पुगेर झुटो बोलेको भन्दै आलोचना सुरु भएको थियो ।