समस्या सिर्जना गरेर उदेश्य प्राप्त गर्ने अमेरिकी तरिका चीनसामु काम लाग्दैन : वाङ यी

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवानमा ठूलो संकट सिर्जना नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । कम्बोडियामा आसियानका विदेशमन्त्रीहरुबीचको बैठकको साइडलाइनमा बोल्दै वाङले अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले तनाव सिर्जना गरेको आरोप लगाए ।
समस्या खडा गरेर उदेश्य प्राप्त गर्ने अमेरिकी तरिका चीनसामु सफल नहुने पनि उनले बताए । ‘अमेरिकाको रणनीति के हो भने उनीहरु पहिले समस्या सिर्जना गर्छन् र त्यो समस्यालाई प्रयोग गरेर आफ्नो उदेश्य पुरा गर्छन् । तर, यो तरिका चीनसामु काम लाग्दैन । हामी अमेरिकालाई चेतावनी दिन्छौँ, हडबडीमा उसले ठूलो संकट सिर्जना नगरोस्,’ वाङ यीले भने ।
२५ वर्षपछि अमेरिकी सभामुखले मंगलबार ताइवान भ्रमण गरेपछि चीन र अमेरिकाबीच तनाव चुलिएको हो । भ्रमणको जवाफमा चीनले ताइवान घेरेर विशाल युद्ध अभ्यास गरिरहेको छ । त्यस्तै, चीनले अमेरिकासँग अनेकौँ फोरमका संवाद रोकेको छ । ताइवानले भने चिनियाँ सेनाले आक्रमणको पूर्वाभ्यास गरेको आरोप लगाएको छ ।
कम्बोडियामा बोल्दै वाङले अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको सार्वभौमसत्तालाई चुनौती दिएकाले बेइजिङले सो प्रतिक्रिया दिन जरुरी भएको पनि बताए ।
‘हाम्रो सैन्य अभ्यास खुला र पारदर्शी छ । यो घरेलु कानुन, अन्तर्राष्ट्रिय कानुन र अभ्यासअनुसार छ । यसको उदेश्य अपराधीहरुलाई चेतावनी दिनु र ताइवानको स्वतन्त्रता चाहने शक्तिलाई सजाय दिनु हो । यदि आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई बेवास्ता गरियो भने अमेरिकाले अझ सनकी तरिकाले अन्य मुलुक, खासगरी साना र मध्यम आकारका मुलुकलाई धम्क्याउनेछ’, वाङले भने ।