काम चलाउ सरकारले दीर्घकालीन महत्वका विषयमा निर्णय गर्न पाउँदैन : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेपछि सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य देवकोटाले काम चलाउ भैसकेको सरकार र संसदले दीर्घकालीन महत्वका विषयमा निर्णय गर्न नपाउने पनि बताए ।
कामचलाउ भैसकेको संसदले नीति तथा कानुन समेत बनाउन नसक्ने भन्दै त्यसमा सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको उनको भनाई छ ।
निर्वाचन घोषणा भइसकेपछि सभामुख र उपसभामुखको पद मात्र कायम रहने संविधानले नै भनेकाले सांसदहरुको कार्यकाल पनि समाप्त भएको बुझ्न जरुरी रहेको उनले बताए ।
कार्यकाल समाप्त भएका सांसदहरुको नाममा बैठक राख्न पनि नमिल्ने र राज्यको दोहन गर्ने काम बन्द गर्न आग्रह गरे । उनले लगातार दोस्रोपटक भएका सांसदहरुलाई टिकट नदिन प्रमुख राजनीतिक दलहरूलाई आग्रह पनि गरे ।
‘लगातार चुनावमा विजयी भएकालाई तेस्रो पटक टिकट नदिइयोस्’, सदस्य देवकोटाको माग छ । उनले राजनीतिलाई दुहुनो गाइ बनाउने काम बन्द गर्न नेताहरुलाई आग्रह समेत गरे ।