भुवनबहादुर सुनारको प्रश्न : नागरिकतामा कुकुर नाम राखिदिने कर्मचारीको हात भाँच्नु पर्दैन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले सरकारी हाकिमले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक नाम राखेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखेको पाइएकाले त्यस्ता नाम सच्याउन गृहमन्त्रालयलाई आग्रह पनि गरे ।
कर्मचारीले दलित समुदायलाई नागरिकता दिने बेलामा कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै उनले प्रश्न गरे- ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’
दलित समुदायका व्यक्तिलाई अपमान गर्नकै लागि त्यतिबेलाका सरकारी कर्मचारीले उनीहरुको नाम त्यस्तो राखिदिएको उनले बताए । ‘नागरिकता लिन जाँदा ति हाकिमहरुले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ?’ उनले प्रश्न गरे ।
सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई आग्रह पनि गरे । ‘खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन । दलितका संघ, संगठन र दलित अभियन्ताहरु अभियानको रुपमा ति बस्तीमा पुग्नुपर्छ । त्यस्ता अपराधीहरुलाई खोजीखोजी कारबाही गर्नुपर्छ । राज्य यो विषयमा गम्भिर हुन आवश्यक छ ।’