अशोक राईद्वारा सुनसरी-१ बाट चुनाव लड्ने घोषणा

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । जसपा धरानद्वारा मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले उक्त घोषणा गरेका हुन् ।
आगामी प्रदेश र संघको निर्वाचनमा सत्ता साझेदार गठबन्धन संयुक्त रूपमा चुनावी मैदानमा उत्रने पनि बताए । सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा केही समस्या भएकाले यसको समाधानका लागि पहल भइरहेको अध्यक्ष राईको भनाई छ । आफू सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरिरहेको पनि उनले बताए ।
२०७४ को संसदीय निर्वाचनमा धरानका जनताले आफूलाई दोस्रो स्थान दिएर माया गरेकाले पुनः यहीबाट चुनाव लड्ने मनसाय बनाएको उनले बताए । सिट बाँडफाँटमा सुनसरी क्षेत्र नम्बर १ नपाए पनि गठबन्धनले टिकट दिएको स्थानमा गएर पनि चुनाव लड्न तयार भएको उनले बताए ।
‘खोटाङ र उदयपुर छाडेर सुनसरी किन आउनुभयो ?’ भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले लोकतन्त्रमा जुन क्षेत्रमा गएर पनि चुनाव लड्न पाउने बताए । केही दलहरूले राजतन्त्र र संघीयता खारेजीको गलत कुरा उठाएको भन्दै जनताले आन्दोलन गरेर ल्याएको गणतन्त्र संस्थागत भइसकेकाले राजतन्त्रको दिउँसै सपना नदेख्न पनि चेतावनी दिए ।