३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

स्वास्थ्य बीमालाई सरकारले ‘कोल्याप्स’ गर्न खोज्यो : खगराज अधिकारी

 बुधबार, साउन २५ २०७९  

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई ‘कोल्याप्स’ पार्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले सरकारले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी नगरेर सरकारले हुर्मत लिएको बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बीमा कार्यक्रमलाई कम्पनीमार्फत् सञ्चालन गर्ने विषय बजेट भाषणमा राखेदेखि नै यसको विरोध भइरहेको छ । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई कम्पनी खोलेर निजी क्षेत्रलाई दिने भनेपछि यसलाई अप्ठ्यारो बनाएको छ । बीमा बोर्डले सेवाप्रदायक स्वास्थ्य संस्थालाई भुक्तानी दिन बाँकी छ । बोर्डले ५ अर्ब दिन बाँकी छ भनेको छ भने भुक्तानी लिने संस्थाले १३ अर्ब बाँकी छ भनेका छन्,’ उनले भने- ‘यस्लाई रद्द गर्न खोजेका हौं ? ज्येष्ठ नागरिक र अपाङ भएकाको हामीले हुर्मत लिन खोजेका हौं ? यस्तो अवस्थामा यसलाई अलपत्र पारेर के गर्न खोज्दैछौं ? यो तरिकाले स्वास्थ्य बीमा कार्यक्रम ‘कोल्याप्स’ हुँदै छ । यस विषयलाई लिएर म सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न आग्रह गर्दै सभामुखलाई रुलिङ गर्न आग्रह गर्दछु ।’

सरकारले सञ्चालनमा ल्याएको यो कार्यक्रममा कूल बिमीत सदस्य संख्या ५३ लाख ४ हजार २ सय ७० रहेका छन् । सेवा लिने २० लाख ८९ हजार ५ सय ९९ जना छन् । सबै जिल्ला र ७ सय ४५ स्थानीय तहमा विस्तार भएको छ । सेवाप्रदायक स्वास्थ्यसंस्था ४ सय ४१ छन् । यो कार्यक्रम अन्तर्गत सरकारले बिमितबाट ११ अर्ब रुपैयाँ संकलन गरेको छ ।

प्रतिक्रिया सबै