९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

निर्वाचनमा सबैलाई निष्पक्ष व्यवहार गर्छौ : आइजीपी सिंह

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले नेपाल प्रहरीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउने बताएका छन् ।

कार्यकालको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सबै आफुहरुका लागि राजनीतिक दल एकै हुन्, सबैलाई निष्पक्ष व्यवहार गर्ने बताएका हुन् ।

नेपाल प्रहरी स्थानीय तह निर्वाचन पनि स्वतन्त्र र शान्तिपूर्णरुपमा सम्पन्न गराएको उनको भनाई छ । ‘स्थानीय निर्वाचनमा ८४ वटा मावनअधिकारवादी संस्था लगायतले अनुगमन गर्दा पनि चुनाव निष्पक्ष र विश्वसनीय भयो भनेका छन् । मेरो मातहतका प्रहरी अधिकृतहरु व्यवसायिक र निडर छन्, प्रहरी कहिल्यै कसैको प्रभावमा पर्दैन’, उनले भने ।

अर्थमन्त्री जनार्दन शर्माको सीसी टीभी फुटेज प्रकरणमा ब्लर भिडियो पठाइएको सन्दर्भमा चाहिँ उनले आफू प्राविधिक नभएकाले त्यसको जवाफ दिन नसक्ने बताए । प्रहरीको सरुवा बढुवाको हकमा विगतमा अन्यायमा परेकाहरुलाई न्याय दिँदा वरियतामा तलमाथि भए जस्तो देखिएको उनको भनाई छ ।

‘यो अवधिमा गल्ती गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ, अन्याय भएकालाई न्याय दिइएको छ’, उनले भने । हाल मिटरब्याजबाट पीडितहरुले गरिरहेको आन्दोलनको सन्दर्भमा चाहिँ उनले प्रहरी इकाइमा निवेदन दिए न्याय पाइने उनको भनाई छ । ‘अहिले काठमाडौं प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख गएर उहाँहरुसँग कुरा गर्नुभएको छ । आधा जति समस्या हल भइसकेको छ, मिटरब्याजविरुद्ध शून्य शहलशीलतामा प्रहरीले कारबाही गर्छ’, उनले भने ।

प्रतिक्रिया सबै