९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

धरानमै बिजुली उत्पादन गर्ने हर्क साम्पाङको योजना सफल

 बिहिबार, साउन २६ २०७९  

काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङको विजुली उत्पादन गर्ने सपना पुरा भएको छ । मेयर साम्पाङको योजनामा धरानबासीकै जनश्रमदानले सर्दुखोलाको पानीबाट प्रोटोटाइप हाइड्रो विजुली बालिएको हो ।

धरानस्थित सर्दुखोलामा सयौँ धराने जनतामाझ विहिबार मेयर साम्पाङले उक्त बिजुलीको रिवन काटेर उद्घाटन गरेका हुन् ।

‘धरानमै पनि बिजुली बत्ती झलझली बाल्न पाउँदा सपना जस्तै लागेको छ’, मेयर साम्पाङले भने ‘तर यो सानो हो र नमूना समेत हो, विद्युत बाल्ने सपना बल्ल पूरा भएको छ । धरानमा पनि बिजुली बाल्न सकिन्छ भन्ने उदाहरण पस्किएका छौं’, उनले भने ।

बानियाँटारमा पोखरी बनाएर त्यहाँबाट धरानभरी बाल्नेगरी बिजुली उत्पादन गरिछाड्ने पनि उनले योजना सुनाए । ‘यो त सानो नमूना मात्रै हो, उदाहरण भनेको सानै हुन्छ । यसै नमूनाका आधारमा बानियाँटारमा ठूलो पोखरी बनाएर धरानभरी बाल्नेगरी बिजुली उत्पादन गर्छौ’, उनले भने ।

सो प्रोजेक्ट म्यानेजर तर्क मगरले ३१ मिटरको हेडबाट पानी झारेर टर्वाइन घुमाएर बिजुली निकालिएको बताए । वाटको हिसाबले तीन सय र भोल्टको हिसाबले २४० भोल्ट बिजुली उत्पादन भएको उनले बताए ।

म्यानेजर मगरका अनुसार उक्त बिजुलीबाट २० वटा वल्भ बल्न सकिनेछ । सो बिजुली खानेपानीको लागि सर्दु खोला छेऊमा बस्ने चौकीदार, बीपी पार्क (ओशो) पार्कको पुल, जलाधार क्षेत्रमा प्रवेश निषेध लेखिएको बोर्ड आदिमा बालिनेछ ।

उपमेयर अइन्द्रविक्रम बेघाले पनि धरानमा पहिलोपल्ट बिजुली उत्पादन भएको र खोलाखोल्सीबाट पनि बिजुली उत्पादन हुन्छ भन्ने प्रमाणका रुपमा यो ‘प्रोजेक्टको कन्सेप्ट’ आएको बताए ।

यस्तै, हाइड्रोपावरका लागि जेनेरेटर, मिटर, पाइप फिटिङसको सेट सिंहबाहिनी इन्जिनियरिङ प्रालिले सहयोग गरेको थिाये । प्रालिका प्रबन्ध निर्देशक टंकप्रसाद तिम्सिना, उत्पादक निरीक्षक गोपाल खड्का, रमेशप्रसाद तिम्सिना, टेक्निकल पर्सन होमबहादुर लिम्बू, टेक्निसियन नरेन्द्र मानन्धरले सहयोग गरेका थिए ।

प्रतिक्रिया सबै