zoom download laptop windows 10 windows app for zoom zoom install windows 10 uk zoom download for pc 2021 install zoom app windows 10 zoom download for laptop free
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

अवरुद्ध बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालन

 शुक्रबार, साउन २७ २०७९  

काठमाडौँ । म्याग्दीको तीन स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरवाङ सडकमा एक हप्तापछि सिधा यातायात सञ्चालन भएको छ ।

मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको सडक पुल, पिल्लर र पहुँचमार्ग संरक्षणका लागि निर्माण गरिएको ग्यावीयन पर्खाल बगाएर जोखिम बनाएपछि साउन २० गतेदेखि पुलमा आवतजावत बन्द गरिएको थियो ।

मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले ग्यावीयन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण भएपछि शुक्रबारदेखि पुलमा यातायात सञ्चालन गरिएको जानकारी दिए ।

‘एक हप्ता लगाएर पुल मर्मत गरेपछि सवारीसाधन सञ्चालन हुन थालेको छ’, उनले भने, ‘पुल मर्मत भएपछि २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा यातायात सञ्चालन भएको छ ।’

२५ मेगावाट क्षमताको दरवाङ म्याग्दी खोला जलविद्युत् आयोजनाले ३७ थान र मालिका गाउँपालिकाले २५ थान ग्यावीन जाली भरेका छन् । गाउँपालिकाले मजदुर परिचालन गरेर ६२ थान ग्यावीयनमा ढुङ्गा भरेर सडक मर्मत गरेको हो ।

पुलको मालिकातर्फको पिल्लरभन्दा गहिरो गरेर खोला बग्नुका साथै पहुँचमार्ग साँघुरिएर सवारी साधन आवतजावत बन्द भएको थियो । पुल मर्मत र सञ्चालन भएपछि स्थानीयवासीलाई आवतजावत, ढुवानी र निकासीमा सहज भएको छ ।

बेनी–दरवाङ मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो । पूर्वाधार विकास कार्यालयले विसं २०७६ मा दुखुखोलामा रु दुई करोड २५ लाख ६० हजार आठ सय २३ को लागतमा २२ मिटर लामो पुल निर्माण गरेको थियो ।

प्रतिक्रिया सबै