zoominfo pricing list zoom app downloard zoom meeting download - zoom meeting download mic not working in zoom meeting windows 10 zoom recording download link pcr test bergen op zoom ggd - pcr test bergen op zoom ggd
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

देशको नेतृत्व फेरि माओवादी केन्द्रले गर्छ : प्रचण्ड

 शनिबार, साउन २८ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी केन्द्र फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने दावी गरेका हुन् ।

सबैलाई पुनः एकताबद्ध बनाएर, विचार, मुद्दामा निकट भएका व्यक्ति समूहलाई सँगै लिएर जानुछ । संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ । वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो’, अध्यक्ष प्रचण्डले भने ।

देशभित्र-बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास नटुटेको आफूले पाएको उल्लेख गर्दै प्रचण्डले पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको जिकिर गरे ।

‘कहीँ समस्या छ भने त्यो नेतामा छ । नेताको एउटा पङ्क्तिमा व्यवहार र विचार तथा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ । नेताहरु एकढिक्का भएर जाने हो भने मुलुकमा फेरि पनि माओवादीले नेतृत्व गर्ने अवस्था आउँछ’, उनले भने ।

माओवादीका नेताहरु व्यक्तिवादी भएको, एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती सबैभन्दा ठूलो भएको बताए । नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनले जिकिर गरे । मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डले बताए । ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’, अध्यक्ष प्रचण्डले भने ।

पछिल्ला दिनमा माओवादीप्रति जनतामा आकर्षण बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले विचार र व्यवहारमा एकरुपता हुन नसक्दा एवं पार्टीभित्रको गुटबन्दी अन्त्य नहुँदा निर्वाचनमा कमजोर नतिजा देखिएको बताए । ‘स्थानीय निर्वाचनमा हाम्रो जनमत खस्केको होइन । जनतामा आकर्षण घटेर माओवादीको सिट गुमेको भए हामीले कमजोरी गर्यौ । जनताले साथ दिएनन् भन्न हुन्थ्यो’, प्रचण्डले भने—‘जनताको साथ समर्थन रह्यो तर पार्टीभित्रै अन्तरविरोधका कारण यसअघि जितेका स्थानीय तह गुमायौँ ।’

स्थानीय तहको निर्वाचनमा १७५ तह जित्ने अनुमान रहेको भए पनि पार्टीभित्रैको अन्तरविरोधका कारण ५० सिट गुमाएको प्रचण्डको भनाई थियो । ‘यो अरु कुनै कारणले, जनताले विश्वास नगरेर होइन, बरु हामीभित्रैको अन्तरविरोधका कारण हामीले नै जनतालाई विभाजन गर्न पुग्दा हार्न पुग्यौं,’ उनले भने ।

तर, आसन्न प्रतिनिसधभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि माओवादीप्रति अहिले देखिएको आकर्षणलाई बचाउन सक्नुपर्ने प्रचण्डको भनाई थियो । पछिल्लो समय विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने लहर नै चलेको उल्लेख गर्दे प्रचण्डले आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो पार्टी बन्ने बताए ।

‘अहिले फेरि पूर्वमाओवादी र अन्य कम्युनिष्ट घटकबाट माओवादीमा आउने लहर चलेको छ । माओवादीप्रतिको आकर्षणलाई बचाउन सकियो भने वामपन्थीतर्फ पहिलो पार्टी बन्ने सम्भावना छ । पार्टीभित्र विचारको भन्दा पनि नेतृत्वको आलोचना गर्ने र गुटबन्दी गर्ने अवस्था आएको भन्दै प्रचण्डले पार्टीभित्रको गुटबन्दी हल गर्न छानबिन समिति नै बनाउनुपर्ने अवस्था देखिएको पनि बताए ।

विचार र आचरणका बीचमा देखिएको अन्तरविरोधलाई हल गर्ने प्रश्न माओवादीका अगाडि आएको उल्लेख गर्दै प्रचण्डले भने- ‘कहीँ न कहीँ आचरण र विचारमा विचलनका गम्भीर सङ्केत देखिएका छन् । पार्टीका काममा, निर्वाचनका समयमा, जनपरिचालनका क्रममा त्यस्तो प्रवृत्ति अझ गम्भीर ढङ्गले देखिने गरेको छ ।’ माओवादी नेता कार्यकर्ताले आचरण सुधार गर्न अवश्यक रहेको उनले बताए । ‘व्यवहार र आचरणमा फरक देखियो । खिचातानी, एकले अर्कालाई हराउने प्रवृति छोड्न आवश्यक छ’, अध्यक्ष प्रचण्डले भने ।

डाक्टर र वैद्यभन्दा बोगटी राम्रो थिए !
प्रचण्डले कार्यक्रममा स्व. बोगटी धेरै पढेलेखेको नभए पनि पार्टीभित्र रहेका धेरै डाक्टर र वैद्यहरूभन्दा राम्रो काम गरेको बताए । ‘अहिले पार्टीभित्रका नेता कार्यकर्ताको आचरणप्रति धेरैको असन्तुष्टि छ । उनीहरू आत्मकेन्द्रित, स्वार्थ केन्द्रीत भएको गुनासो छ । हामीले पनि अनुभव गरिरहेका छौं । तर, आज समाजले अर्को व्यवहार मागिरहेको छ । यो अन्तरविरोधलाई समाधान गर्नुपर्छ’, उनले भने ।

स्व.बोगटीको आचरण र व्यवहार सधै एकनास रहेको उनले सम्झिए । उनले सम्झिए- ‘बोगटीको जीवन र मृत्यु दुवै सरल रह्यो । पार्टी अप्ठयारो हुँदा उनी सँधै अघि सर्थे । पार्टीको माथिल्लो तहको अन्तरविरोधलाई पनि समाधान गर्ने अद्भूत क्षमता उनको थियो’ पार्टीभित्रका डाक्टर र वैद्यहरूलाई समेत मिलाउन सक्ने क्षमता उनमा रहेको उनले बताए । अहिले उनका यस्ता गुण अझै पनि आवश्यक रहेको उनले बताए ।

नेता पुन पोष्टबहादुर स्मृति प्रतिष्ठानको अध्यक्ष चयन
माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्त पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्षमा चयन भएका छन् । प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिसिधसभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ । नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रुपमा चिनिन्छन् ।

नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र र बाहिरसमेत लोकप्रिय थिए ।

२०१० साल साउन ३ मा नुवाकोटको तत्कालीन तुप्चे गाविस–२ भित्रीनीटारमा जन्मिएका बोगटीको ६१ वर्षको उमेरमा २०७१ साल भदौ ३० गते हृदयघातका कारण निधन भएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर–३ बाट निर्वाचित बोगटी ऊर्जा, शिक्षा र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए। बोगटीका एक मात्र छोरा रवि बोगटी तत्कालीन शाही नेपाली सेनाको कारबाहीमा २०५९ सालमा उत्तरी धादिङको सत्यदेवीमा मारिएका थिए । प्रतिष्ठानले शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।

 

 

प्रतिक्रिया सबै