बिमा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं । संसदमा चार वर्षअघि दर्ता गरिएको बिमासम्बन्धी विधेयक आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित गरिएको छ । अर्थ समिति, राष्ट्रियसभा र प्रतिनिधिसभामा दफावार छलफलपछि विधेयक पारित गरिएको हो ।
उक्त विधेयक अब सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइने छ । राष्ट्रपतिले विधेयकमा लालमोहर लगाएपछि बिमा विधेयक ‘बिमा ऐन २०७९’ का रूपमा लागु हुनेछ ।
यो ऐन लागु भएपछि अहिलेको बिमा समिति अधिकारसम्पन्न बिमा प्राधिकरणका रूपमा परिणत हुनेछ । उक्त प्राधिकरण स्वायत्त रहने अर्थमन्त्री जनार्दन शर्माले बताए । बिमा क्षेत्रमा भएका समस्यालाई नियालेर समयसापेक्ष विधेयक बनाइएको उनको भनाई छ ।
विधेयकमार्फत प्राधिकरणले तोकेको चुक्तापुँजी बिमा कम्पनीहरूले नपु¥याए कम्पनीको लाइसेन्स जफत गर्न सक्ने अधिकार पनि दिइएको छ । विधेयकमा बिमा ब्रोकरको पनि परिकल्पना गरिएको छ ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बिमा विधेयक ०७५ असारमा संसद्मा पेस गरेका थिए । उक्त विधेयकमा बिमा प्राधिकरणको सञ्चालक समिति तथा अध्यक्ष नै परिवर्तन हुने व्यवस्था थप गरिएपछि विवाद भएको थियो ।