३ असार २०८१, आईतवार Sunday 16 June, 2024

वैदेशिक रोजगारीबाट फर्केकालाई लगानी गर्न प्रेरित गर्छौं : श्रममन्त्री

 आइतवार, साउन २९ २०७९  

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतवार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा बोल्दै उनले सरकारले उक्त कार्यक्रममा वैदेशिक रोजगार दाताहरुको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताए ।

वैदेशिक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरुलाई पनि यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने मन्त्री कुँवरले बताए ।

‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा सरकारले गैर सहकारी संस्थाहरुलाई पनि जोडेका छौं । वैदेशिक रोजगार दाताहरुको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी नीतिमा प्रावधानहरु राखिएको छ । विदेशबाट फर्किएकाहरुसँग पुँजी नभएकाहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ’, उनले भने ।

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने भन्दै मन्त्री कुँवरले कार्यक्रम कार्यान्वयन नआइ नकारात्मक कुराहरु गर्दा अरुण तेस्रो जलविद्युत आयोजना जस्तै हुने उदाहरण पनि दिए ।

‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन । उक्त कार्यक्रम कार्यान्वयनका सन्दर्भमा अरुण तेस्रो जस्तै हुन्छ’, उनले भने ।

मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजानउ उनको भनाई थियो ।

‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन गर्न सबै मिलेर लागौँ । तत्काल कार्यान्वयनको तहमा पुगौँ । वैदेशिक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग अन्तक्रिया गरेर अगाडि बढ्नुपर्छ’, उनले भने ।

प्रतिक्रिया सबै