फोहोरमा व्यवस्थापनमा अवरोध भएपछि बालेनले भने- हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको बताएका छन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेपछि मेयर बालेनले आपत्ति जनाएका हुन् ।
बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह समेत गरेका छन् ।
बालेनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् । बालेनले यस्ता खाले राजनीतिक गर्नेलाई हेक्का राख्न पनि चेतावनी दिएका छन् । ‘हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ । त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ ?’ बालेनले प्रश्न गरेका छन्- ‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’
बालेनले केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने बताएको तर, तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरिएको बताएका छन् ।
‘हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर, आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए’, फेसबुकमा बालेनले लखेका छन् ।
यस्तै बालेनले फोहोर व्यवस्थापन रोक्नका लागि विभिन्न नयाँ नयाँ अवरोध सिर्जना गर्ने जस्ता खेलहरु भएको बताएका छन् । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो ।, २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं’, बालेनले भनेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।’
यो पनि
काठमाडौंको फोहोर उठाउन सत्ताधारी दलकै अवरोध, सधैँलाई फोहोर फ्याँक्न नदिने घोषणा