६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

‘फोहोरको विषयमा राजनीति गर्नेलाई कारबाही गरौँ’

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो स्वार्थका लागि फोहोरको विषयमा राजनीति गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन् । ललितपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै थापाले फोहोरको समस्या समाधान गर्न काठमाडौँ महानगरलाई सहयोग गर्नु सबैको कर्तव्य भएको पनि बताए ।

‘काठमाडौँको फोहोरको समस्या समाधान गर्नका लागि सबै सरोकारवालाहरूले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । कसैले तत्कालको फाइदाको लागि असहयोग गर्छ वा राजनीति गर्न खोज्छ भने त्यो मान्छेलाई सार्वजनिक गर्नुपर्छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ’, उनले भने ।

थापाले फोहोरको समस्या समाधान गर्नका लागि सबैजना पहिले एक ठाउँमा आएर छलफल गर्नुपर्ने बताए । यसका लागि संघको सहरी विकास मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाई थियो । थापाले फोहोरको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेर कुरा राख्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘सहरी विकास मन्त्रीसँग पनि हामीले समय मागेका थियौँ । उहाँ दाङमा हुनुहुँदो रहेछ । भोलि आउँछु भन्नुभएको छ ।’

थापाले फोहोरको समस्या समाधान गर्नका लागि अनुगमन र सहजीकरणको बलियो संयन्त्र बनाउन पनि प्रस्ताव गरेका छन् । ‘संयन्त्रमा काठमाडौँ र धादिङका सांसद राखौँ । कहीँ अप्ठ्यारो भयो भने गाँठो फकाउने काम गरौँ । दबाब दिन पर्यो भने दबाब दिऔँ । नत्र सङ्कट परेको बेला तत्काल सम्झौता मात्र हुन्छ । काम अघि बढ्दैन’, उनले भने ।

प्रतिक्रिया सबै