फोहोर व्यवस्थापन अवरोधमा एमाले र राप्रपाको पनि साथ !
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थामा ठोस कार्ययोजना नहुँदा फोहोरमैलाले जनजीवन जटिल बन्दै जान थालेको छ । उपत्यकामा पुनः फोहोर थुप्रिएपछि उपत्यका कुरूप देखिनुका साथै महानगर दुर्गन्धित बनेको छ । सुरक्षाकर्मी तैनाथ गरेर बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न सुरु गरिए पनि स्थानीयवासीको अवरोधका कारण अहिले फोहोर व्यवस्थापन रोकिँदा काठमाडौँमा फोहोर थुप्रिन पुगेको हो ।
फोहोर व्यवस्थापनका लागि निर्मित धादिङ बेंसीस्थित बञ्चरेडाँडालाई लिएर समस्या देखा परिरहेको छ । तर, उक्त समस्या भने राजनीतिक दलकै नेताहरुका कारण देखा परिरहेको पाइएको छ ।
यसबीच काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध हटाउन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई सत्तारुढ राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।
आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा सँधैका लागि फोहोर फाल्न नदिने घोषणा गरेका थिए । स्थानीयका अनुसार उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका छन् ।
राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । आइतबार गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए ।
फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी कर्मचारी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले बताए ।
पाण्डेले काठमाडौं महानगरको फोहोर बोक्ने गाडी र अन्य उपकरण तोडफोड गर्नेहरुलाई खोजी गरिरहेको पनि बताए । अहिले आन्दोलनकारीहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको एक स्थानीयले बताए ।
स्थानीयहरुले १७ वर्षदेखि काठसहितका नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय कुडुल्ले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फ्याँकिने गरेको बताएका छन् ।
स्थानीयबासिन्दाको जनजीवन ज्यादै कष्टकर हुनुका साथै दीर्घ रोगले स्थानीयबासीहरु पीडित भइरहँदा पनि मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने फोहोरको उचित व्यवस्थापनमा महानगरसहित संघीय सरकारले चासो नदिएको उनीहरुको भनाई छ ।
फोहोरमा व्यवस्थापनमा अवरोध भएपछि बालेनको आपत्ति
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको बताएका छन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेपछि मेयर बालेनले आपत्ति जनाएका हुन् ।
बालेनले फोहोरमाथि कुहिएको खेल खेलिएको भन्दै फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह समेत गरेका छन् ।
बालेनले एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिन्छ भन्ने प्रश्न पनि गरेका छन् । बालेनले यस्ता खाले राजनीतिक गर्नेलाई हेक्का राख्न पनि चेतावनी दिएका छन् । ‘हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ । त्यसमा एउटा सरकारको तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरित एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नु पर्ने, असफल नै बनाउनु पर्ने खेल किन गरिन्छ रु’ बालेनले प्रश्न गरेका छन्( ‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौँ रु फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’
बालेनले केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने बताएको तर, तर आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरिएको बताएका छन् ।
‘हामीले हिजो जानकारी गराएका थियौँ कि केहि अबरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने छन् । तर, आज दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरियो । यसैले आज ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाए’, फेसबुकमा बालेनले लखेका छन् ।
यस्तै बालेनले फोहोर व्यवस्थापन रोक्नका लागि विभिन्न नयाँ नयाँ अवरोध सिर्जना गर्ने जस्ता खेलहरु भएको बताएका छन् । १. कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो ।, २. फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान गर्यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौं’, बालेनले भनेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापुर्ण हुनेछ । बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरु बनिसकेका छन् । भुमि लिन तथा संरचना निर्माणमा र प्रभावितहरुले पाउने सुविधा तथा मुअब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको छ । यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरु छन् । ति सम्झौताहरुको पालना गर्नु सबैको कर्तव्य हो ।’
प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ !
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला संघीय राजधानी काठमाडौंमा आएका छन् । उनी मेयरमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।
यो आर्थिक वर्षमा धरानको विकासका लागि जाने बजेट संघीय सरकारले घटाइदिएपछि निराश मेयर साम्पाङ धरानको विकासका एजेन्डासहित काठमाडौंमा गुनासो पोख्न आइपुगेका हुन् ।
उनले राजधानीको हालत ‘फोहोरको थुप्रो’ देखेर निराश व्यक्त गरेका छन् । काठमाडौंका सडक चिल्ला र फराकिला भए पनि फोहोरको डंगुरले आफ्नो मन दुखाएको फेसबुकमार्फत व्यक्त गरेका छन् ।
हर्कले खाल्डाखुल्डी बाटो भए पनि धरान नै सफा लागेको भन्दै प्रधानमन्त्री र मन्त्री बस्ने सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको पनि फेसबुकमा लेखेका छन् ।
‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो १’, उनले लेखेका छन् ।