३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

जापानमा आत्महत्या धेरै हुँदोरहेछ : प्रचण्ड

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानले भौतिक विकास निकै गरे पनि त्यहाँ आत्महत्याको दर उच्च रहेको बताएका छन् ।

सोमबार रसियन कल्चर सेन्टरमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले भौतिक विकासले मात्रै कुनै पनि देश सुखी र खुशी हुन नसक्ने औंल्याएका हुन् । हालै जापान भ्रमणबाट फर्केका प्रचण्डले जापानबारे सुनाउँदै भौतिक विकाससँगै आध्यात्मिक र सांस्कृतिक विकास पनि हुनुपर्नेमा जोड दिए ।

‘जापानको विकास धेरै लोभलाग्दो छ, तर मैले त्यहाँका धेरै बुद्धिजिवी तथा स्थानीय नागरिकहरुसँग सुन्दा आत्महत्या धेरै हुने देशभित्र जापान पनि पर्दोरहेछ । यत्रो विकसित देशमा यतिधेरै आत्महत्याका घटना किन हुन्छन् भन्ने जिज्ञासा मैले राखेको थिएँ’, उनले भने, ‘भौतिक विकाससँगै सांस्कृतिक, आध्यात्मिक वा भनौं आत्मिक र चेतनाको विकास भएन भने त्यसले समाजमा समाञ्जस्यता कायम गर्न सक्दो रहेनछ । त्यसैले भौतिक विकासमात्रै पर्याप्त छैन भन्ने हामी विकसित देशको अनुभवबाट बुझ्न सक्छौं ।’

मानिसहरुको जीवन सरल र सहज बनाउन संस्कृतिको निकै ठूलो भूमिका हुने प्रचण्डको भनाई छ । आफू स्वयम् संस्कृतिको अनुरागी भएको पनि उनले बताए ।

‘म आफैं संस्कृति र कलाप्रति अलि बढी अनुराग राख्ने मान्छे हुँ । राजनीतिमा लागेर धेरै उतारचढाव भोगेँ । तर, भित्रीरुपमा म अलि बढी भावुक र संवेदनशील हुनुको नाताले कला–साहित्यप्रति अनुराग बढी छ । यो पाटोबाट मलाई कमै मान्छेले बुझेका छन्,’ प्रचण्डले भने ।

प्रतिक्रिया सबै