६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

फोहोर व्यवस्थापनमा कांग्रेस-माओवादीले अवरोध गर्दा एमाले र राप्रपाले पनि साथ दिए : बालेन

 सोमवार, साउन ३० २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

मेयर बालेनले फेसबकुमा स्टाटस लेख्दै फोहोर लैजाने क्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले सडकमा उत्रिएर अवरोध गरेको बताएका हुन् । सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको भन्दै मेयर बालेनले प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता पनि सडकमा उत्रिएर फोहोर व्यवस्थापनमा अवरोध गरेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले सोमबार ठाउँ ठाउँमा अवरोधबीच २०३ ट्रक मात्रै फोहोर धादिङको बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा बिसर्जन गर्न सफल भएको उनको भनाई छ ।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढी प्रहरी परिचालनबाट फोहोरका गाडी बञ्चरेडाँडा लगियो’, उनले भनेका छन् ।

उनले प्रदर्शनमा उत्रिएका केही समूहले लुक्दै गुलेली हानेर अवरोध प्रयास गरिएको पनि बताए । ‘यसैकारण आज २०३ वटा मात्रै फोहोरका गाडीहरु बञ्चरेडाँडा लैजान सकियो । केही दिन र समयबाट देखिएको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारण छन् । नत्र सोच्नुस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ?’

उनले २ सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हानेको बताए । यसलाई लिएर उनले प्रदर्शनकारीलाई राजनीतिक संरक्षण रहेको उल्लेख गरेका छन् । ‘यदि त्यसो होइन भने यसरी गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?, यहाँ केही कमजोरी, केही गल्ती भएकै छ। सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन। तर हामी विश्वस्त पार्न चाहन्छौँ, विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ। केही समय पक्कै लाग्छ’, उनले भनेका छन् ।

सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेडाँडाको दीगो उपयोगिताका लागि महानगर संवेदनशील रहेको उनको भनाई छ । ‘हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौँ । पुनः भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नुपर्ने होइन, फोहोरको हो’, , उनले भनेका छन्— ‘आफ्ना कुत्सित स्वार्थको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजना छ ।’

प्रतिक्रिया सबै