६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास नगरौं : एमाले

 मङ्लबार, साउन ३१ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाएको छ ।

नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनको भूमिकालाई लिएर भएको टिकाटिप्पणीलाई एमालेले विवादमा तान्ने प्रयासका रुपमा व्‍याख्या गरेको हो ।

बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार प्रयोग गरेका कारण अनावश्यक रुपमा विवादमा मुछ्ने प्रयास गर्नु गलत भएको बताए ।

राष्ट्रपतिले नागरिकता अध्यादेश तुरुन्तै जारी गरेको तर नागरिकता विधेयक फिर्ता पठाएको भनी उठाइएको प्रश्नको संवैधानिक आधार नभएको उनको भनाइ छ । ‘संविधानको धारा ११४ ले अध्यादेश पुनरविचारका लागि फिर्ता पठाउने अधिकार राष्ट्रपतिलाई दिएको छैन । तर, विधेयक राष्ट्रपतिले पुनरविचारका लागि फिर्ता पठाउन सक्ने अधिकार छ’ उनले भने ।

प्रमुख सचेतक भट्टराई यसैमा थप्छन्, ‘मुलुकमा नागरिकता विधेयकका बारेमा अनेक खालका दृष्टिकोण आइरहेका छन् । राष्ट्रपतिलाई विवादमा पार्ने गरी उहाँको पूर्व पार्टी अवद्धता देखाएर, एमाले नेतृत्वको सरकारले अध्यादेश पठाउँदा तुरुन्तै जारी गर्ने भनेर अहिले किन भनेर मुलकलाई दुई कित्तामा विभाजित गर्ने प्रयास गरिएको छ ?’

बरु नागरिकता विधेयक फिर्ता भएपछि दलहरुलाई साझा धारणा तय गर्ने अवसर मिलेको उनको भनाइ छ । ‘राष्ट्रपतिले केही सन्देशहित पठाउनुभएको छ । यो हाम्रा लागि सुवर्ण अवसर हो । एमालेको तर्फबाट आह्वान गर्न चाहन्छु(आउनुहोस् सम्पूर्ण राजनीतिक दलहरु एक ठाउँमा उभिएर जाउँ । नागरिकता जस्तो विषयमा साझा धारणा तयार गरेर अगाडि बढौं,’ भट्टराईले भने ।

एमालेकै सचेतक शान्ता चौधरीले नागरिकता विधेयक फिर्ता भएपछि सत्ता गठबन्धनलाई गल्ति सुधार्ने मौका मिलेको बताइन् । ‘यस अवसर दिलाइएकोमा राष्ट्रपतिलाई धन्यवाद दिनुपर्छ’ उनले भनिन् । यो विधेयक अब दफावार छलफलका लागि संसदीय समितिमा पठाइनुपर्छ भन्ने पनि सचेतक चौधरीको माग रहेको छ ।

 

प्रतिक्रिया सबै