३० असार २०८१, शनिबार Saturday 13 July, 2024

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुनः पारित गर्ने तयारी

 बुधबार, भदौ १ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै फिर्ता पठाएको नागरिकता विधेयक पुनः पास गर्न तयारी भएको छ । प्रतिनिधि सभाको भोलिको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक पारित गर्न प्रस्ताव पेस हुने उल्लेख छ ।

कार्यसूची अनुसार भोलि संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता संशोधन विधेयकमाथि पुनर्विचार गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् । लगत्तै विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत हुने छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरूको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुनः अघि बढाउने सहमति गरेको थियो ।

नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई संशोधन नगरिकन नै संसदबाट पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने गठबन्धनका दलहरूले निर्णय गरेका छन् ।
सरकारले दोस्रो पटक प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सरकारले साउनको १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको थियो । तर राष्ट्रपतिले विज्ञहरूसँग छलफल गरेर आइतवार प्रतिनिधिसभामा फिर्ता पठाई दिएकी थिइन् । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रतिनिधि सभामा पेस भइसकेको छ ।

प्रतिक्रिया सबै