१० असार २०८१, आईतवार Sunday 23 June, 2024

राष्ट्रपतिले त विवेकको प्रयोग गर्न सक्नुभएन, अरुको के कुरा गर्ने : अञ्जना विशंखे

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अञ्जना बिशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको बताएकी छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी हुन् ।

सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिँदै उनले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताईन् ।

नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रुपमा नागरिकता दिनुपर्ने उनको भनाई थियो । नागरिकताबारे फरक रुपमा रहँदा फरक तर्क गर्न नमिल्ने पनि बताइन् ।

‘आज पनि हामीले छोरा र छोरीलाई विभेद गर्ने वहस सिर्जना गरिरहेका छौं । यो बहसको बिरोध गर्न चाहन्छु । महिला निरीह हुनु हुँदैन । नेपाली चेलीसँग विवाह गर्ने पुरुषले नेपालमा बस्छु भन्दा नागरिकता दिन सक्ने वातावरणबाट कसरी हल गर्ने ?’, उनले पश्न गरिन्, ‘यो बहस पनि छैन । यहाँ कुन कोणबाट वहस भइरहेको छ । छोरीसँग विवाह गरेर आउने ज्वाईंले चाहन्छन् भनेपनि र छोरासँग विवाह गरेर आउने बुहारीले चाहेमा पनि नागरिकता दिन सक्नुपर्र्छ । जानपनि सक्छन् आउनपनि सक्छन्, उनीहरुलाई पनि नागरिकता सहज ढंगले दिनुपर्छ ।’

उनले थर फेर्न, नाम फेर्न चाहनेलाई पनि नागरिकता दिनुपर्ने बताइन् । यो नागरिकता दिनुपर्छ भन्ने विषय हो । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन ? विवेकको प्रयोग गरौँ । मेरो प्रश्न र चुनौती छ विवेकको प्रयोग गर्न सक्नुहुन्छ ? ठूला बहस गर्नेलाई मेरो चुनौती छ । राष्ट्रपति जस्तो पदमा बसेर त विवेकको प्रयोग गर्न सक्नुभएन । अरुको के कुरा गर्ने’, उनले भनिन् ।

प्रतिक्रिया सबै