९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सुन व्यवसायीलाई राति आफ्नो कोठामा बोलाएर हनिट्रयापमा फसाउने ५ जना पक्राउ

 बिहिबार, भदौ २ २०७९  

काठमाडौं । दाङको घोराहीका एक सुनचाँदी व्यवसायीलाई हनिट्रयापमा पारेर फसाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दाङका डीएसपी राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी पसल सञ्चालन गर्ने दिनेश घर्ती मगरलाई साउन २६ गते राति युवतीले आफ्नो कोठामा बोलाएर ट्रयापमा पारेका थिए । उनलाई फसाउने ४ युवतीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलिप कुमार वली, दाङको घोराही उपमहानगरपालिका १० नारायणपुरकी ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया प्रमिला नेपाली छन् ।

साउन २६ गते राति ११ बजे रोल्पाको परिवर्तन गाउँपालिका ५ का ४० वर्षीय दिलीपकुमार वलीसहित चार युवतीले योजना बनाएर घोराही उपमहानगरपालिका १० नारायणपुरमा सुनचाँदी पसल सञ्चालक मगरलाई फसाएका हुन् ।

सोही समूहका प्रमिला नेपाली सुनको तिलहरी बेच्ने बहानामा उनको पसलमा पुगेकी थिइन् । त्यही क्रममा उनले चिनजान गरेर फोन नम्बर लिएकी थिइन् । साउन २६ गते राति फोन गरेर उनले आफ्नो कोठामा बोलाएकी थिइन् ।

प्रमिलाको कोठामा राति ११ बजे पुगेका दिनेश त्यहीँ ट्रयापमा परेका हन् । दुवै जना कोठामा भएको अवस्थामा प्रमिलाका साथीहरु पुगेर दिनेशलाई पक्राउ गरेका थिए ।

उनीहरुले दिनेशलाई पक्राउ गरेर हाम्रो चेलीबेटीलाई के गरेको भन्दै धम्क्याएका थिए । आफूहरुले भनेको नमाने जिल्ला प्रहरी कार्यालय दाङमा बलात्कारको मुद्दा लगाउने धम्की दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुरुमा प्रमिलालाई एउटा घडेरी पास गरिदिनु पर्ने बताएपछि दिनेशले घडेरी छैन भनेपछि उनीहरुले धम्क्याएर एक लाख रुपैयाँ नगद लगे । बाँकी २र२ लाख रुपैयाँको चेक काटिदिएका थिए । अर्को चेक ७ लाख २० हजार रुपैयाँको गरेर १२ लाख २० हजार रुपैयाँ लगेका थिए । उनीहरुले बेनीमानीपूर्वक आपराधिक लाभ लिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया सबै