३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

न्यायालयमा सुधारको प्रयास भइरहेको छ : कामु प्रधानन्यायाधीश

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा सुधारको प्रयास भइरहेको बताएका छन् । सोमबार विशेष अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले अदालतमा ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता भएको बाहिर सुनिँदै आए पनि विकृति र विसङ्गतिलाई हटाउँदै सुधारका प्रयास भइरहेको बताए ।

‘न्यायापालिकामा निरन्तर सुधारको प्रयास भइरहेको छ । सर्वोच्च अदालतमा मुद्दाको फछ्र्योट आठ प्रतिशत थियो, अहिले असार मसान्तसम्म मुद्दा फछ्र्योटको सङ्ख्या बढेर १९.२ प्रतिशत भएको छ’, उनले भने । सर्वोच्च अदालतमा पुराना मुद्दाको फछ्र्योट गर्ने उद्देश्यले अहिले शुक्रबार पनि पूरा समय काम गर्नसमेत प्रारम्भ गरिएको छ ।

न्यायालयमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्नका लागि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गरिरहेको बताए । ‘सर्वोच्च अदालतमा पाँच वर्ष, सात वर्ष र १० वर्षका मुद्दा पनि छन्भन्दा मलाई पनि आत्मग्लानी हुन्छ । अब यो अवस्था नरहोस् भनेर निरन्तर मुद्दा फछ्र्योट गरेर सुधार गर्ने काम गरिरहेको छौँ, सबै अदालतले सेवाग्राहीलाई खुसी बनाएर पठाउनुस्’, उनले भने ।

त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायापालिकाले राम्रो कामका लागि सम्मान गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने बताए । ‘सर्वोच्च अदालतमा अहिले पनि १० वर्षसम्मका मुद्दा बाँकी छन् । फैसला ढिला हुँदा सेवाग्राही निराश भएका छन् । तीन वर्षभित्र सम्पूर्ण कानुन व्यवसायीलाई करको दायरमा ल्याउने तयारी रहेको जानकारी दिँदै न्यायालयकर्मी, कानुन व्यवसायी, सरकारी वकिल, सरकारी कर्मचारी सच्चिए न्यायालय पूर्णरुपमा सुधार हुने उनको भनाई थियो ।

अख्तियार दुरुपयोग अुनसन्धान आयोगका सचिव तोयम रायाले अदालतले अझै छिटो न्याय सम्पादनमा ध्यान दिनुपर्ने र छिटो फैसला भएमात्र न्याय पाउने कुरालाई मनमा राखेर काम गर्नुपर्ने बताए । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलले विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका मुद्दाको कारबाही किनारा गर्ने अदालतको भवन निर्माण भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा छिटोछरितो अनुसन्धान र फैसला कार्यान्वयन हुने बताइन् । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराइले उपभोक्ताको मागलाई ध्यानमा राखेर छिटो न्याय दिनुपर्ने र त्यसका लागि कर्मचारी र न्यायकर्मीको क्षमता विकासमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । साथै विशेष अदालत स्थापनाको २० वर्ष पुगेका अवसरमा प्रकाशित ‘विशेष अदालत स्मारिका, २०७९’ समेत सार्वजनिक गरिएको छ । त्यस्तै, भवन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उक्त अदालतका रजिष्टार अशोककुमार क्षेत्रीलाई सम्मान गरिएको थियो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले उक्त भवन निर्माण सम्झौता भएको एक सय ४५ दिनअघि नै निर्माण सम्पन्न भएको र उक्त भवनले मुद्दाको सम्पादन गर्न अली सहज हुने बताए ।

प्रतिक्रिया सबै