३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको छ : झलनाथ खनाल

 सोमवार, भदौ ६ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका छन् ।

पार्टी प्रशिक्षणका क्रममा गुल्मीमा पुगेका नेता खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएकाले अहिलेको दौड राष्ट्रपतिका लागि नभएर पार्टीका निम्ति भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा राष्ट्रपतिभन्दा पहिले पार्टीको निर्देशनअनुसार निर्वाचनमा प्रतिस्पर्धा गर्ने उनको भनाई थियो । आफू सधैँ वाम एकताको पक्षमा रहेको उनले बताए ।

‘मैले जहिल्यै वाम एकताको पक्षमा बोलेको छु । तर, ठूला शक्तिहरू नै सकारात्मक छैनन् । तर, एकताको आवश्यकतासँगै बहस र छलफल अगाडि बढ्नु पर्छ’, उनले भने ।

नेता खनालले अहिले जनताले नेतृत्वमा नयाँ अनुहार खोजेको बताए । उमेरसँगै योग्यता र क्षमता भएका नेता र नेतृत्व आवश्यक रहेको उनको भनाई थियो । युवाले पद मात्रै खोज्न बल गरेर नहुने, आफ्नो क्षमता पनि विकास गरे पहिलो पुस्ता आफै विस्थापित हुने उनले बताए ।

वाम एकताको आवश्यकताबारे बहस चलाउनुपर्छ
नेता खनालले आफू वाम एकताको पक्षमा रहेको प्रस्ट पारेका छन् । उनले वाम एकताको आवश्यकताबारे बहस र छलफल चलाउनुपर्ने बताए । पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकका लागि वाम एकता आवश्यक रहे पनि ठुला कम्युनिस्ट पार्टी नै एकताको पक्षमा नरहेको बताए ।

पार्टीको निर्देशनअनुसार आफूले आगामी निर्वाचनमा उम्मेदवारी दिने नेता खनालको भनाई थियो । पार्टीको गुल्मी जिल्ला संगठनले सञ्चालन गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणका लागि गुल्मी आएका खनालले देश र पार्टीको आवश्यकताअनुसारको भूमिका निर्वाह गर्न आफू तयार भएको पनि उल्लेख गरे ।

एमालेबाट विद्रोह गरेको एक वर्षमै आफ्नो पार्टी राष्ट्रव्यापी बनेको बताउँदै छोटो समयमै २१ वटा जनवर्गीय संगठन निर्माण गरिएको पनि उनले बताए । एकीकृत समाजवादी पार्टी विशाल क्रान्तिकारी पार्टी बनिसकेको उनको दाबी थियो ।

खनालले नागरिकता विधेयक मुलुकको राष्ट्रियताको विषय भएकाले राष्ट्रिय सहमति आवश्यक रहेको बताए । कार्यक्रममा पूर्व मन्त्री एवं पार्टी सचिव रामकुमारी झाक्री पनि सहभागी थिइन् ।

प्रतिक्रिया सबै