२ असार २०८१, शनिबार Saturday 15 June, 2024

१७ अफ्रिकी मुलुकले लिएका ऋण मिनाहा गरिदिने चीनको घोषणा

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । चीनले १७ अफ्रिकी मुलुकलाई दिएको २३ वटा ऋण माफ गरिदिने घोषणा गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा गरेका हुन् ।

‘चीनले १७ अफ्रिकी मुलुकको २३ वटा निर्ब्याजी ऋण मिनाहा गर्ने भएको छ। जुन ऋण २०२१ को अन्त्यमा तिर्नुपर्ने थियो,’ वाङले फोरम अन चाइना–कोअपरेसनमा भने ।

अफ्रिकामा लगानी र सहयोगका माध्यमबाट आफूहरु प्रमुख पूर्वाधार परियोजनाको निर्माण सहभागी भइरहने पनि उनले बताएका छन् । ‘हामी अफ्रिकाबाट आयात बढाउनेछौँ। अफ्रिकाको कृषि र उत्पादन क्षेत्रको विकासका लागि सहयोग गर्छौँ र उदाउँदा उद्योगहरुमा सहकार्य बढाउँछौँ,’ वाङले भने ।

१७ अफ्रिकी मुलुकका लागि खाद्य सहयोग गर्ने पनि उनले बचन दिए । चीनले अन्य मुलुकलाई ऋण–पासोमा पारेको आरोप पश्चिमा शक्तिहरुले लगाइराखेको बेला वाङले ऋणमोचनको घोषणा गरेका हुन्। यद्यपि, त्यो परिमाण भने खुलाइएको छैन ।

अफ्रिकाका केन्या, दक्षिण अफ्रिका र युगान्डाजस्ता मुलुकले चीनबाट भारी ऋण लिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटी अफ एड्भान्स्ड इन्टरनेसनल स्टडिजले प्रकाशित गरेको एक अध्ययनअनुसार सन् २००० यता अफ्रिकी मुलुकहरुलाई चीनले पटकपटक ऋण मिनाहा गरिदिएको छ । २०१९ सम्ममा कम्तीमा ३।४ अर्ब डलर ऋण मिनाह गरिएको थियो ।

प्रतिक्रिया सबै