६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

भारतीय प्रधानसेनापति भदौ १९ गते नेपाल आउने

 मङ्लबार, भदौ ७ २०७९  

काठमाडौं । भारतीय प्रधानसेनापति मनोज पाण्डे भदौ १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार पाण्डे पाँच दिनका लागि नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भारतीय प्रधानसेनापति भदौ १९ देखि २३ सम्म नेपाल भ्रमणमा रहने निश्चित भएको र आफुह हामी स्वागतका लागि तयारी गरिरहेको उनको भनाई छ । पाण्डेको नेपाल भ्रमणका लागि नेपाली सेनालाई मन्त्रिपरिषद्‍बाट सैद्दान्तिक स्वीकृति मिलिसकेको पनि उनले बताए ।

पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन् । भ्रमणको औपचारिक घोषणा भइसकेको छैन । भ्रमणबाट दुई देशबीचको सैन्य सहकार्य मजबुत हुने अपेक्षा लिइएको उनले बताए ।

भ्रमणमा नेपालले राख्ने एजेन्डाबारे रक्षा परराष्ट्र मन्त्रालय र नेपाली सेनाबीच छलफल भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपाली सेनाले साउन दोश्रो साता भारतसँग दुईवटा सैनिक हेलिकोप्टर अनुदानमा मागेको छ ।

नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवीबाट विभूषित गर्नेछन् । सन् १९५० यता नेपाली सेना र भारतीय सेनाका प्रमुखबीच एकअर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको पदवी लिने परम्परा रही आएको छ ।

सन् १९५० मा नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि तत्कालीन भारतीय सेनापति केएम क्यारिअप्पा पहिलोपटक नेपालमा मानार्थ प्रधानसेनापतिको पदवी लिन आएका थिए ।

त्यसयता २१ जना भारतीय सेनाका प्रमुख मानार्थ प्रधानसेनापतिको पदवी लिन नेपाल आइसकेका छन् । त्यस्तै, त्यस अवधिमा नेपालका १७ जना सेनापति मानार्थ प्रधानसेनापतिको पदवी लिन दिल्ली गएका थिए ।

प्रतिक्रिया सबै