९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

काठमाडौंमा अवैध रुपमा बनाइएका संरचना भत्काइयो

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकामा अवैध रुपमा बनाइएको संरचना भत्काइएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह ‘बालेन’को उपस्थितिमा डोजरसहितको टोलीले काठमाडौंमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन थालेको हो ।

मेयर बालेन नेतृत्वको टोलीले एकपछि अर्को गर्दै अनधिकृत संरचनामाथि डोजर चलाएको हो । महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा बनेका अवैध रुपमा बनेका संरचना यसअघि नै भत्काइसकेको छ ।

त्यस्तै, न्यूरोडको रञ्जना गल्लीभित्र बनेका भवनहरु समेत भत्काएको छ । भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्साविपरीत बनाइएका संरचनाहरुलाई भत्काइएको महानगरले जनाएको छ ।

त्यस्तै, महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाउने क्रममा मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् ।

दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो । त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो ।

त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाएको छ । दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै, मेयर बालेन बुधबार नै कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाँदैछन् ।

त्यस्तै मेयर बालेनले नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन निर्देशन दिएका छन् । अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएका हन् ।

बालेनको स्वकीय सचिव भुपदेव शाहका अनुसार न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिएका हुन् ।

व्यापारीमा खैलाबैला
महानगरपालिकाले काठमाडौंमा नक्सापासबिनाका अवैध संरचना भत्काउन थालेपछि व्यापारीमाझ खैलाबैला भएको छ । सुन्धारास्थित काठमाडौं मलअगाडि नक्सापासबिना बनाइएका संरचना डोजर लगाएर भत्काएपछि व्यापारीहरूबीच खैलाबैला भएको हो ।

महानगरले अवैध संरचना हटाउन महानगरपालिकाले ३५ दिने सूचना गोरखापत्रमा प्रकाशित गरिसकेको थियो । भत्काउने सूचना सम्बन्धित ठाउँमा पनि टाँस गरे पनि अटेर गरेकाले महानगरपालिकाले भत्काउनु परेको अधिकारीहरु बताउँछन् ।

कसैले पनि कानुन जान्दिन भन्न नपाउने भन्दै कानुनको अवज्ञा कसैले गर्नु नहुनेमा महानगरपालिकाका प्रमुख बालेनको भनाई छ ।

काठमाडौं मलको अवैध संरचना भत्काएसँगै स्थानीय व्यापारीहरूमा खैलाबैला मच्चिएको छ । एक व्यापारीले महानगरले अवैध संरचना भत्काउनु स्वागतयोग्य भए पनि मानवताको हिसाबले व्यापारीलाई केही समय दिनुपर्ने बताए ।

सबै व्यापारीलाई एक ठाउँ राखेर महानगरले एकपटक कुरा गरेको भए व्यापारीलाई धेरै मर्का नपर्ने उनको भनाई थियो । अर्का व्यापारीले आफूहरुले सञ्चय कोषको जग्गामा संरचना बनाएर व्यापार गर्न ठेकेदारमार्फत सम्झौता गरेको भन्दै सञ्चयकोष र महानगरबीचको सहमतिमा संरचना भत्काएको भए उपयुक्त हुने बताए ।

अर्का व्यापारीले आफूहरुले सम्झौता अनुरुप भाडा तिरिरहेको बताउँदै राज्यलाई कर पनि भुक्तानी गरिरहेको बताए । संरचना भत्काउँदा लगानी अनुरुपको क्षतिपुर्ति दिनुपर्ने उनमो भनाई थियो । व्यापारीलाई अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्नेमा पनि उनीहरुले माग गरेका छन् ।

 

 

प्रतिक्रिया सबै