३ असार २०८१, आईतवार Sunday 16 June, 2024

बुबा-छोरीको तीन कृति एकसाथ लोकार्पण

 बुधबार, भदौ ८ २०७९  

काठमाडौं । गायिका तथा गीतकार अनिला राई र उनका बुबा कवि गंगाराम राईले एकसाथ तीन कृति सार्वजनिक गरेका छन् । राजधानीमा मंगलबार एक समारोहबीच अनिलाको आफ्नो जन्मदिनको अवसर पारेर एकल स्वर तथा शब्दरचना रहेको गीति एल्बम ‘एन्जेलिना’ र गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ र कवि गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ सार्वजनिक गरिएको हो ।

‘अक्षरको ऐना’ गायिका अनिलाका बुबा गंगा राईले लेखेका हुन् । बाबु–छोरीको कृतिलाई कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ अमर गिरि, बरिष्ठ कवि भूपाल राईलगायतले संयुक्तरुपमा लोकार्पण गरेका हुन् ।

लामो समयदेखि बेलायत बस्दै आएकी अनिलाको ‘एन्जेलिना’ सातौँ एल्बम हो भने गीति पुस्तक पहिलो हो । एल्बम ‘एन्जेलिना’मा नौ वटा गीत संग्रहीत छन् । जसमा अनिलाको एकल शब्दरचना छ ।

एल्बममा संग्रहीत नौ वटा गीतमध्ये दुई वटा गीतमा गायक रोशन राईले स्वरमा साथ दिएका छन् । एल्बममा ‘धाराको पानी’, ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’, ‘ढिडो र सिस्नु’, ‘पठाउँदै छ युद्ध भूमि’, ‘साकेला’ र ‘चिसो चिसो मौसम छ’ बोलका गीत छन् ।

यी गीतहरुमा सात वटामा अनिलाको एकल स्वर छ भने ‘धाराको पानी’ र ‘चिसो चिसो मौसम छ’मा गायक रोशनले पनि स्वर दिएका छन् । ‘प्यारी छोरी’, पपी फूल’, ‘बेलायतको उत्तरी भेग’, ‘आमा’ र ‘पठाउँदै छ युद्ध भूमि’ गीतमा शान्तिराम राईको संगीत रहेको छ । यस्तै, ‘धाराको पानी’ बोलको गीतमा संगीत रोशनले गरेका हुन् ।

यस्तै, ‘ढिँडो र सिस्नु’मा डाक्टर किरात र ‘साकेला’ मा जसिहाङ राई र ‘चिसो चिसो मौसम छ’मा सचिन सिंहको संगीत छ । गीति पुस्तक ‘योद्धा, पपी फूल र म’ एक सय १२ वटा गीत संग्रहीत छन् जसमध्ये नौ वटा गीत रेकर्ड गरिएको हो ।
‘धाराको पानी’, ‘प्यारी छोरी’ र ‘आमा’को गीतको भिडियो कार्यक्रममा प्रिमियर गरिएको थियो । ‘धाराको पानी’ गीतको भिडियोलाई कमल राईले गरेका हुन् । भिडियोमा योगेन्द्र राई र उपशना नेम्बाङको अभिनय रहेको छ । ‘प्यारी छोरी’ गीतको भिडियोमा गायिका अनिला र उनकी छोरी एन्जेलिना नै फिचरिङ छन् भने ‘आमा’ मा अनिला, उनकी आमा सत्यवति र एन्जेलिना राईको अभिनय रहेको छ ।

कवि गंगारामको कविता संग्रह ‘अक्षरको ऐना’ मा २४ कविता रहेका छन् । उनी खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवामा जन्मिएका हुन् । हाल उनी ललितपुरमा बस्दै आएका छन् ।

 

प्रतिक्रिया सबै