९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

काठमाडौं उद्योग वाणिज्य संघको आरोप : बालेनले शक्तिको दुरुपयोग गरे

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौं । काठमाडौंका व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन ‘बालेन्द्र’ साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ ।

महानगरले केही दिनदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको छ । तर, संघले भने साना व्यापारीहरु मर्कामा परेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको बताएका छन् । ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ? जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’, अध्यक्ष श्रेष्ठले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका श्रेष्ठले मेयरको अभियानले दशैंको मुखैमा व्यवसायी माथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि बताए ।

उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने उनको भनाई छ । ‘काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्दै छौं, महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसंग कुराकानी गर्दैछु । कोभिड-१९ र आर्थिक संकटको मारमा परेको उद्योगी माथि निर्वाचित मेयरले शक्ति परिचालन सही ठाउँमा गर्नु पर्छ’, उनले भने ।

प्रतिक्रिया सबै