९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चुरे संरक्षण अभियन्ता र प्रहरीबीच झडप, १०८ जना पक्राउ

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौं । जनकपुरधाममा चुरे संरक्षण अभियन्ता र प्रहरीबीच झडप भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे तथा वनजंगल संरक्षण अभियानी (सुकुम्बासी) र प्रहरीबीच झडप भएको हो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मुख्यमन्त्रीको पुत्ला दहन र मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्ने क्रममा झडप भएको हो । धनुषाका प्रहरी उपरीक्षक (एसपी) वसन्त रजौरेका अनुसार १०८ जना आन्दोलनकारीलाई पक्राउ परेका छन् भने एकजना प्रहरी जवान घाइते भएका छन् ।

अभियानका प्रदेश संयोजक अमन यादवलगात अभियानीलाई दमन गरी प्रहरीले पक्राउ गरेको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले बताए ।

बुधबार उद्योग, पर्यटन तथा वन मन्त्रालयले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सरकारी जमिन कब्जा गरे–नगरेको विषयमा निष्कर्ष नै ननिकालेको प्रतिवेदन सार्वजनिक गरेको भन्दै अभियानीहरु आन्दोलनमा उत्रेका छन् ।

मारुती सिमेन्टले अतिक्रमण गरेको वनको जग्गाका विषयमा प्रदेश सरकारले अभियानसँग २०७८ भदौ ४ गते गरेको सम्झौता अविलम्व सार्वजनिक गर्नुपर्ने, तराई मधेशका दलित भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी भूमि अधिकारबाट बञ्चितहरुलाई तत्कालै गास, बास र कपासको व्यवस्था गर्नुपर्ने, स्थानीय सरकारद्वारा उठीबास लगाउने कार्य बन्द गर्नुपर्नेलगायतका मागसहित विगत ४० दिनदेखि अभियन्ताहरु आन्दोलनमा छन् ।

 

प्रतिक्रिया सबै