६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौं । नेपाल केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा ५ विकेटले विजयी भएको छ । बिहिबार नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाउँदै पूरा गरेको हो ।

नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको हो । भिसा समस्याका कारण नेपाली टोली चार चरणमा गरेर केन्या गएका थिए । दोस्रो चरणमा गएका सोमपाल कामी र विवेक यादव तथा तेस्रो चरणमा गएका आदिल आलमले केन्या विरुद्ध पहिलो खेल खलेका छन् ।

नियमित ओपनर कुशल भुर्तेललाई ड्रप गरेपछि नेपालले आसिफ शेखसँगै पवन सर्राफलाई ओपनिङ गराएको थियो । दुई वर्ष भन्दा बढी समयपछि टी-२० अन्तर्राष्ट्रिय खेल्दै ओपनिङ गरेका पवन व्यक्तिगत १ रनमै आउट भए ।

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो नम्बरमा ब्याटिङ गरे । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३१ रन बनाउँदा आसिफ शेख र ज्ञानेन्द्र मल्लले १९-१९ रन जोडेका थिए ।

उपकप्तान रोहित पौडेलले भने १५ रन बनाउँदा आरिफ शेखले अविजित २१ रन बनाए । आदिल आलम २ रन अविजित रहँदा केन्याका लुकास ओलुच र भिराज पटेलले २-२ विकेट लिएका थिए ।

नैरोबीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ८ विकेट गुमाएर १३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए ।

लुकास नान्डासन ३० रनमा अविजित रहेको थिए भने बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिँदा आदिल आलम र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

प्रतिक्रिया सबै