३ असार २०८१, आईतवार Sunday 16 June, 2024

हर्क साम्पाङको वृक्षारोपण अभियानमा प्रचण्ड

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा सहभागी भएका छन् । अध्यक्ष प्रचडले धरानस्थित सर्दुखोला जलाधार क्षेत्रमा पुगेर विरुवा रोपेका हुन् ।

प्रचण्ड बिहान जहाजबाट विराटनगर उत्रिएपछि धरान पुगेर वृक्षारोपणमा सहभागी भएका हुन् । प्रचण्ड धरान पुगेर प्रदेश नं १ को केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा सहभागी हुने कार्यक्रम छ ।

कम्युनिष्टहरुले गर्नुपर्ने काम हर्कले गर्नुभयो

अध्यक्ष प्रचण्डले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए । विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए ।

‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे। ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने ।

विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता थियो । धरानका लागि खानेपानीका मुहान संरक्षण गर्ने भन्दै मेयर साम्पाङको नेतृत्वमा धरानमा वृक्षरोपण अभियान चलिरहेको छ । मेयर हर्कको अभियानमा सहभागी हुने शीर्ष नेतामा प्रचण्डले पहिलो नेता हुन् । यसअघि माओवादी केन्द्रका नेता सुदन किराँतीले पनि हर्कको वृक्षारोपन अभियानमा सहभागी जनाएका थिए ।

 

 

प्रतिक्रिया सबै