६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने एमालेको निर्णय

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गरेको हो ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका हुन् । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए ।

बैठकले उम्मेदवार सिफारिसका लागि आवश्यक मापदण्डहरुसहित जिल्ला र क्षेत्रीय कमिटीहरुलाई सर्कुलर गर्ने निर्णय समेत गरेको छ । ज्ञवालीले ओलीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारका रुपमा प्रस्तुत गर्दा हलमा दुई मिनेटसम्म ताली बजेको थियो ।

ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भएका हुन् ।

दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए । २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने ।

एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि ओलीलाई थप सहज भएको थियो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भए ।

यो पनि

कार्यकर्तालाई ओलीको निर्देशन : आफैंले आफैंलाई उम्मेदवार घोषणा गर्दै नहिड्नुस

प्रतिक्रिया सबै