३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

बालेनले सडकमा व्यवसाय गरेर जीवन गुजरा गरिरहेकाको उठीबास लगाए : धर्मेन्द्र बाँस्तोला

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सडकमा व्यवसाय गरेर जीवन गुजरा गरिरहेकाको उठीबास लगाएको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै संयोजक धर्मेन्द्र बाँस्तोलाले महानगरले अल्फाबिटाको अवैध संरचना भत्काएकोमा भने समर्थन जनाए । नेकपा बहुमत नेतृविक्रम चन्द ‘विप्लव’बाट छुट्टिएर गठन भएको हो ।

चुनाव बहिष्कार गर्ने
यस्तै नेकपा बहुमतले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभाको निर्वाचन बहिष्कार गर्ने जनाएको छ । अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नहुने भन्दै संयोजक बाँस्तोलाले भने— ‘यो व्यवस्था नै जनता विरोधी छ । यो दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुन्छ, यसबाट जनताले केही पाउँदैनन् । यो व्यवस्थामा हुने चुनावमा जनताका प्रतिनिधि नभएर दलालकै प्रतिनिधिले जित्ने छन् ।’

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेको उनको भनाई छ । बास्तोलाले तत्कालीन नेकपा र सरकारबीच भएको सहमति कार्यान्वयनमा सरकार गैरजिम्मेवार भएको बताए । संयोजक बास्तोलाले भने, ‘हामीसहित तत्कालीन नेकपा र ओली नेतृत्वको सरकारबीच भएको सहमतिबाट देउवा नेतृत्वको वर्तमान सरकार पछि हटेको छ । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकार सहमतिबाट पछि हट्न स्वतन्त्र छ भने हामी पनि संघर्षमा जान स्वतन्त्र छौं ।’

सरकारले ३२२ मुद्दा फिर्ता लिन नसकिने बताउनु गम्भीर भएको भन्दै उनले भने, ‘यसले समस्या समाधान गर्ने होइन कि, थप जटिलता ल्याउँछ ।’ सहमति कार्यान्वयन गरी बन्दीलाई तत्काल रिहा गर्न आग्रह गर्दछु ।’ उनले नागरिकता विधेयक खारेजको मागसमेत गरे । भारतीयलाई नागरिकता दिन विधेयक ल्याइएको उनले बताए ।

नागरिकता विधेयकमा एमालेको दोहोरो चरित्र
संयोजक बाँस्तोलाले एमालेले नागरिकता विधेयकमा दोहोरो चरित्र देखाएको टिप्पणी गरे । आफू सरकारमा हुँदा अध्यादेश ल्याउने र अहिले भोट बटुल्न मात्रै विरोध गरेको उनले बताए ।

‘नागरिकता विधेयक देश र जनताको हितमा छैन भन्ने हाम्रो पार्टीका धारणा छ, राष्ट्रपतिले फिर्ता गर्नुभएको छ तर, फेरि हुबहु पारित गरेर पठाउने तयारी भइरहेको छ । यसका विरुद्ध आम नागरिकता एकजुट हुनुपर्छ ’, बास्तोलाले भने ।
बास्तोलाले कालो धन कमाएका सरकारका उच्च अधिकारी नै मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

 

 

प्रतिक्रिया सबै