८ असार २०८१, शुक्रबार Friday 21 June, 2024

भारतीय सेना प्रमुख नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे भदौ १९ गते नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष नेपाल आउन लागेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सोमबार एक विशेष समारोहबीच भारतीय प्रधानसेनापतिलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको उल्लेख छ ।

भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । नेपाली सेनाले भ्रमणको कार्यतालिक बुधबार सार्वजनिक गरेको छ । पाँच सदस्यीय भ्रमणटोलीका साथ भारतीय सेनापति नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

नेपाली समकक्षी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँडे ५ दिनका लागि काठमाडौ आउन लागेका हुन् । भदौ २३ सम्म यहाँ रहँदा पाँडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ ।

त्यस्तै, भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप दिइने विविध सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यसअघि गत महिना नेपाली सेनाले भारतसँग दुईवटा हेलिकोप्टर अनुदानमा मागेको थियो ।

भारतीय प्रधानसेनापति पाँडे नेपाली सेनाका कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया सबै