९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

गठबन्धनले देशलाई कङ्गाल बनाई सके : ओली

 शनिबार, भदौ १८ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले एक वर्षभित्रमै देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन् ।

शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले बेहाल बनाएको मुलुकलाई अब मंसिर ४ गते हुने निर्वाचनबाट सुधार आउने जिकिर पनि गरे ।

‘मंसिर ४ गते हुने निर्वाचनले सम्पूर्ण नेपाल र नेपालीलाई विजयी गराउनेछ । लोकतन्त्रलाई बलियो बनाउनुका साथै भौगोलिक अखण्डताले हार्ने छैन एमालेले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउँछ’, उनले भने ।

चुनाबका लागि एमाले कार्यकर्ता गड्यौलाजस्तो कसैले छुनेवित्तिकै पछाडि सर्ने नभएर मुखमा दाँत भएजस्तो हुनुपर्ने उनले बताए । ‘कसैले छोएमा डस्नेजस्तो पनि हुनुपर्छ । जनताको सार्वभौम अधिकार कुनै पैसाको खेलोमेलोमार्फत् कोही प्रलोभनमा पर्नु हुँदैन्’, उनले भने ।

सुनसरी क्षेत्र नं. ३ मा दुई पटकसम्म सरकारी निकाय लागेर नेता भगवती चौधरीलाई निर्वाचनमा हराएको पनि उनले आरोप लगाए । ‘यस क्षेत्रबाट दुई पटकसम्म भगवती चौधरीलाई हार घोषणा गरियो । बाक्स साटेर, बुथ कब्जा गरेर हार घोषण गराइयो, यसपटक त्यस्तो नहोस्’, उनले भने ।

२०७० सालको संविधानसभाको निर्वाचन र २०७४ सालको प्रतिनिधीसभाको निर्वाचनमा एमाले नेतृ भगवती चौधरी झिनो मतले पराजित भएकी थिइन् । दुवै निर्वाचनमा नेता विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया सबै