३ असार २०८१, आईतवार Sunday 16 June, 2024

राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको संसद बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले आजैदेखि लागु हुने गरी आफू सांसदको भूमिका नहुने घोषणा गरेका हुन् ।

‘संसदको कार्यकाल यो अन्तिम हो । अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु । चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदैन’, उनले भने-‘प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन् । तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन । अब म चाहिँ संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो’

संसदको आयु मंसिर ४ गतेपछि पनि राख्ने भन्ने प्रक्रिया सुरु भएकोमा उनले आपत्ति जनाउँदै भने- ‘सरकारको यो निर्णयले मलाई लज्जित बनाएको छ । बाटोबाटै मैले संसद छाडेँ भन्नु उचित हुँदैन । म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन । सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस् । मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु’, उनले भने ।

प्रतिक्रिया सबै