२ असार २०८१, शनिबार Saturday 15 June, 2024

डाँका समूह र प्रहरीबीच गोली हानाहान

 आइतवार, भदौ १९ २०७९  

काठमाडौं । बाराको जितपुरमा डाँकाको समूह र प्रहरीबीच गोली हानाहान भएको छ । गएराति १२ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भुलहीमा डकैती गरिरहेको समूहलाई पक्राउ गर्न गएको प्रहरीमाथि डाँकाको समूहले गोली चलाएको थियो ।

एक प्रहरी घाइते भएका छन् । प्रहरी वरिष्ठ नायव निरीक्षक कमलबहादुर शाहीको टाउकोमा डाँकाले रड प्रहार गरेको बारा प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयरमा लगिएको छ ।

डाँकाको समूहले प्रहरी टोलीमाथी कटुवा पेस्तोलबाट १ राउण्ड फायर समेत गरेको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले बताए । डाँकाको समूहले गोली चलाएपछि प्रहरीले पनि राइफलबाट ३ राउण्ड गोली चलाएको छ ।

डाँका समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ राउण्ड गोली लोड गरेको पेस्तोल र २ राउण्ड गोलीसहित एउटा भरूवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । भलुहीस्थित एरोटेक प्रालिमा १०/१२ जना डाँकाहरु हात–हतियार सहित प्रवेश गरी धनमाल लुटि रहेका छन् भन्ने सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो ।

१०र१२ जनाको समुहमा हतियारधारी डाँकाहरुले स्टोरमा रहेको सिलिण्डर बनाउने कार्यमा प्रयोग हुने पित्तलको भल्भ, जिंक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोबाइल समेत लुटेर भाग्दै गर्दा प्रहरी त्यहाँ पुगेका थिए ।

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा डाँकाहरुले प्रहरी टोलीलाई लक्षित गरी एक राउण्ड गोली फायर गरेका थिए । प्रहरी टोलीले आफ्नो प्रतिरक्षाका लागि गोली चलाएको जनाएको छ । प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका ९ का ३५ वर्षीय जयराम पासवान र ४० वर्षीय जवाहिर महतो पक्राउ परेका छन् ।

प्रतिक्रिया सबै