९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

इन्स्पेक्टरको जिम्मेवारी खोसियो

 सोमवार, भदौ २० २०७९  

काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमाथि छानबिन सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नुस्’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङसँग रवि लामिछानेले तस्वीर खिचेपछि छाविन सुरु भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय काठमाडौंले घटनाबारे छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यष लामिछानेले हिरासतबाट निकालेर गुरुङलाई भेटेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । काठमाडौं प्रहरीका एक उच्च अधिकृतका अनुसार हिरासतमा राखिएको व्यक्तिसँग कसरी फोटो खिचियो भन्नेबारे छानबिन गर्न निर्देशन छ ।

छानबिन थाल्नु अगावै लामिछानेलाई भेट्न दिने प्रहरी निरीक्षक विकास तामाङको जिम्मेवारी खोसिएको छ । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।

रविले गुरुङसँगको फोटो पोष्ट गर्दै ‘प्रहरी हिरासतमा रहेका शेरजंग गुरुङसँग भेटेर धन्यवाद दिएको’ उल्लेख गरेका छन् । आफूसँगको भेटमा गुरुङले आफूले ड्युटी पूरा गरेको र कसैलाई कुनै दुर्व्यवहार नगरेको बताएका रविले उल्लेख गरेका छन् । गुरुङ्गले भनेको भन्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो आवाज अली ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन । मन्त्री भन्ने मलाई थाहा पनि भएन, थाहा भए पनि ड्युटी त गर्नै पर्‍यो ।’

शुक्रबार क्यानडाको भिसा आवेदन दिन छायाँ सेन्टरमा रहेको भीएफएस ग्लोबलको कार्यालयमा पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले ‘लाइनमा आउनुस्’ भनेका थिए । त्यसक्रममा विवाद भएपछि केहिबेरमै प्रहरीले उनलाई मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया सबै